गोरखा । पृथ्वी जयन्तीको अवशरमा आयोजित ‘म्यान अफ द गोरखा दौड’मा नेपाली सेनाका जवानहरु बिजयी भएका छन् । दौडमा पहिलोदेखी तेस्रोसम्म नेपाली सेनाको त्रिभूवन आर्मी क्लबका जवानहरुले जित निकालेको हो ।
गोरखा नगरपालिका ५ को पश्लाङ चौतारबाट सुरु भएको दौड गोरखा दरबार परिषरमा पुगेर समापन भएको थियो । कुल ८ किलो मिटर दौडमा क्रमश.नेपाली सेनाको त्रिभूवन आर्मी क्लबका गजेन्द्र राई, मोहनदेव जोशी र टंक कार्कीले पहिलो, दोस्रो र तेस्रो स्थान हात पारेको छ ।
राईले निर्धारित दुरी ३० मिनेट ०७ सेकेण्डमा पार गरेका थिए भने दोस्रो हुने जोशी र तेस्रो हुने कार्कीले क्रमश. ३० मिनेट ५७ सेकेण्ड र ३१ मिनेट १४ सेकेण्डमा पार गरेका थिए ।
१६ जना सहभागी भएको प्रतियोगितामा गोरखा पालुङटारका राजेन्द्र तामाङले ३१ मिनेट ३६ सेकेण्डमा दुरी पार गरी चौथो स्थान हात पारेका थिए ।
विजयी हुने राईलाइ गोरखा दरर्बार परिषरमा नै द्रब्य शाहको पोशाकमा सजाएर गोरखा बजार ल्याईएको थियो । राईलाइ जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगरले द्रब्य शाहको टोपी पहिराएर बिजयी घोषित गरेका थिए ।
गोरखा उद्योग बाणिज्य संघको आयोजना गरेको ११औं गोरखा महोत्सवको पहिलो दिन संघकै आयोजनामा दौड प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक चन्दनबावु खत्रीले जानकारी दिए ।
दौडामा विजयी हुनेहरुलाई क्रमश. ३०, २०, १० र ५ हजार नगद प्रदान गरिने छ । उनीहरुलाई दिउसो गोरखा सदरमुकामको खेलकुद मैदानमा हुने गोरखा महोत्सवको अवशरमा प्रमुख अतिथी नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गर्ने कायक्रम समेत तय भएको संयोजक खत्रीले जानकारी दिए ।
दौड प्रतियोगिताका समन्वय प्रमुख राना मगरले उदघाट्न गर्दै राजा पृथ्वीनारायण शाह गोरखाको मात्र ईतिहास नभएर सिंगो नेपालकै ईतिहास भएको स्मरण गराउदै शाहले गरेका राम्रा कामको सबैले अनुशरण गनुपर्नेमा जोड दिए ।
दौड प्रतियोगितामा सहभागीहरुले पश्लाङ चौतारो हुदै धारापानी, रोहटेपानी, विपी चौतारा, पुरानो बसपार्क, शक्तिचोक, कालिमाटी बजार, गोरखा अस्पताल, पाटेचौर, तिनधारे, ठुलो आँगन, सतिपिपल, गैरीकुवा हुदै गोरखा दरर्बारसम्मको दुरी पार गरेका थिए ।
दौडमा सहभागी सबैलाई स्थानिय महिला समूहले अण्डा र दहीको सगुन खुवाएर बिदाइ गरेका थिए ।












