साँकेतिक तस्बिर
गोरखा । जिल्ला जिल्ला सञ्चालित सबै क्रसर र बालुवा प्रशोधन केन्द्रमा प्रशासनले तालाबन्दी गरिदिएको छ । सोमवार जिल्ला अनुगमन समितिको बैठकले सबै क्रसर बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेपछि मंगलवार बन्द गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार दरौदी खोला पारी रहेको पालुङटार नगरपालिका–१ मा रहेको सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, दरौदी खोला वारी रहेको गोरखा नगरपालिका–१० को छेवेटारमा रहेको गोरखकाली क्रसर उद्योग बन्द गराइएको छ ।
त्यस्तै गरी, सिरानचोक गाउँपालिका–६ को कालामाटामा रहेको दरौँदी क्रसर उद्योग, अजिरकोट गाउँपालिका–२ को सुपर चेपे हाईड्रो पावरको क्रसर लगायतका उद्योग मंगलवार प्रशासनको आदेशमा नेपाल प्रहरीले तालाबन्दी गरिदिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
मंगलबार बन्द गराईएका सबै उद्योगहरुको नबिकरण र दर्ताको कागजात दुरुस्त नभएको भन्दै तालाबन्दी गरिएको हो । जिल्ला भित्र त्यस्ता प्रकृतीका उद्योगहरु २३ वटा रहेको प्रशासनले जनाएको छ ।




















