गोरखा । पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा रोट्याक क्लब अफ गोरखाले नगरको विभिन्न भागको सरसफाई गरेको छ । रोट्याकको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा नगरको विभिन्न भागको सरसफाई गरेको हो ।
‘हाम्रो नगर, सफा नगर । हाम्रो अभियान’ नारा दिएको सरसफाई कार्यक्रम अन्तरर्गत शनिबार गोरखा नगरपालिका–६ को ठुलो आँगनदेखी प्रतिक्षालय चोकसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको रोट्याकले जनाएको छ ।
स्थापना कालदेखी पृथ्वी जयन्तीको अवशरमा विभिन्न कार्यक्रम गर्दै आएको रोट्याकले यस पटक भने नगरको सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तरर्गत ठुलो आँगन, पदेली, पुरानो बसपार्क, शक्तिचोक, बिसौनी मोड, कालिमाटी बजार, हरमटारी हुदै प्रतिक्षालय चोकसम्म सरसफाई गरेको थियो ।
समुदाय–प्रहरी साझेदारीको अवधारणामा भएको सरसफाई कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगर, कार्यपालिका सदस्य, वडा नम्बर २, ६, ७, ८, ९ र १० का वडाध्यक्षहरु, रोट्याकमा आवद्व सदस्यहरु, शसत्र तथा नेपाल प्रहरी र टोल विकास संस्थाहरु, गोरखा नगरपालिकाका कर्मचारीहरुको समेत सहभागीता रहेको नगरपालिकाका बातावरण अधिकृत ध्रुव घिमिरेले जानकारी दिए ।
तस्बिर : ध्रुव घिमिरे


























