गोरखा । मर्मत लगत्तै आजैदेखी मनकामना केबलकार संञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण गएको पौष ११ गते साँझ प्यानल बोर्डमा आगलागी भए लगत्तै केवलकारको सञ्चालन रोकिएको थियो ।
निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकहरू र सामान आएर बिहीबार राती नै काम समपन्न भएकोले शुक्रबार बिहानैदेखी केबलकार सञ्चालन गर्न लागेको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिजो राती अवेरसम्म प्राविधिकहरुले प्यानल बोर्ड परिवर्तन गर्ने काम सकेकाले आज बिहानैदेखी केबलकार सञ्चालनमा ल्याउन लागेको हो ।
प्राविधिकहरुले राती अबेरसम्म भए सामान जडान गरेर टेष्ट गरे पछि शुक्रबार बिहानैदेखी केबलकार सञ्चालनमा आएको स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिए । प्यानल बोर्ड परिवर्तनका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट नै प्राविधिकहरुको एक टोली आएको केबलकार प्रशासनले जनाएको छ ।
पौष ११ गते प्यानल बोर्डमा आगलागी भए लगत्तै पौष १२ गते मंगलबारदेखी पूर्णरुपमा केबलकार बन्द गरिएको थियो । बन्द भएको ११ दिन पछि केबलकार सञ्चालनमा आए लगत्तै तिर्थ यात्रीहरु मनकामना दर्शनका लागि लान लाम लागेका छन् ।
मनकामना मन्दिर जाने मुख्य सिजन मानिने यो बेला केबलकार बन्द हुदा कम्पनीलाई लाखौं रुपैयाँ नोक्सानी भएको छ भने तिर्थ यात्रीलाई आउजाउमा समस्या भएको थियो ।
यो सिजनमा केबलकार भएर दैनिक जसो मनकामना मन्दिर जानेको संख्या ५ हजार भन्दा पनि बढी हुने गर्दछ ।




