गोरखा । गोरखा जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बिच आज छलफल तथा अन्तरक्रिया सम्पन भएको छ ।
सरकारी कार्यालयहरुका गतिबिधि तथा सूचना पत्रकारहरुलाई सहज र सरल ढंगबाट उपलब्ध गराउन तथा समस्या र सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरिएको गोरखा प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले सूचनाको हक सम्बन्धी ऐन तथा त्यसको व्यवस्था लगायतका बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा शंकरहरी आर्चायले ऐनले व्यवस्था गरे अनुसार मागेका सूचना उपलब्ध गराउन सवै कार्यालयका सूचना अधिकारीहरुलाई निर्देशन दिएका थिए । उनले सूचना दिने मात्र नभएर पत्रकारहरुबाट लिन पनि सकिने भन्दै कार्यालयले गर्ने सेवा प्रवाहका बारेमा आएका सूचनाले कमीकमजोरीलाई सुधार्ने अबसर प्राप्त हुने बताए ।
छलफल कार्यक्रममा प्रजिअ आर्चायले सवै कार्यालयलाई आफ्नो वेवसाईट तत्कालै चुस्त दुरुस्त राख्न समेत निर्देशन दिएका थिए । उनले वेवसाईटबाट समेत धेरै सूचना लिनदिन सकिने भएकाले सवै वेवसाईटलाई छिटो र समयमा अपडेट गर्न सके सूचना लिन चाहानेहरुका लागि सहज हुने र सूचना अधिकारीलाई समेत बोझ कम हुने बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले अधिकासं सरकारी कार्यालयमा सूचना अधिकारी भएपनि सूचना भने कार्यालय प्रमुखसंग मात्र हुने गरेकाले समस्या भएको बताएका छन् । सूचना माग्न सम्र्पक गर्दा सूचना अधिकारीले कार्यालय प्रमुखलाई सोध्नुपर्ने, आफूलाई थाहा नभएको जस्तो प्रतिक्रिया समेत आउने गरेकाले यसलाई सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा गोरखा जिल्ला स्थित संघिय, प्रदेश र स्थानीय तहका सूचना अधिकारीहरु सहित जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।


