साँकेतिक तस्बिर
गोरखा । जिल्ला प्रशासन कार्यालय आज एक सूचना जारी गर्दै हिमपात र चिसोबाट जोगिन सर्व साधारणलाई आग्रह गरेको छ । जाडोको समय शुरु भएको र निरन्तर जाडो बढ्दै गएको भन्दै प्रशासनले हिमपात र चिसोबाट जोगिन आग्रह गरेको हो ।
प्रशासनले आज जारी गरेको सूचनामा ‘सधैको जाडो याम जस्तै यस बर्षको जाडो समय शुरु भैसकेको र निरन्तर रुपमा जाडो बढ्ने क्रममा रहेको’ भन्दै ‘जिल्लाको उत्तरी क्षेत्रमा हिउँ पर्न सक्ने तथा अन्य भागमा अत्याधिक चिसो बढ्न गई सर्वसाधारण नागरिकहरुको दैनिक जीवन यापनमा कठिनाई हुदै गइरहेको अवस्थामा हिमपात तथा अत्याधिक चिसोबाट जोगिन र आफ्नो स्वास्थ्यको ख्याल गर्नका लागि जिल्ला प्रशासन कार्यालय, गोरखाबाट जनहितका लागि यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ ।
कार्यालयले हिमपात र चिसोबाट जोगिन समयमा नै न्यानो कपडाको जोहो गर्न पनि भनेको छ । हिमपात र अत्याधिक चिसो भएको समयमा घर बाहिर लामो समयसम्म नबस्न र रातको समयमा न्यानो कपडा, सिरक, कम्मल जस्ता कपडाहरु ओड्न पनि आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकार चित्राङगत बरालले हस्ताक्षर गरेको सूचनामा हिउँ परेको तथा त्यस पछिको समयमा चिसो बढ्ने हुनाले आगो तापेर शरीरलाई न्यानो राख्न, आवश्यक खानेकुरा र पर्याप्त मात्रामा तातो झोलिलो खाने कुरा खान पनि आग्रह गरेको छ ।
यस्ता बेला बालबालिका, बृद्वबृद्वा, गर्भवती महिला तथा बिरामीहरु बढी प्रभावित हुने भन्दै प्रशासनले त्यस्ता ब्यक्तिको हेरचाहमा विशेष सतर्कता अपनाउन समेत भनेको छ । चिसोका बेला पशु चौपायाहरु समेत प्रभावित हुने भन्दै हिमपात र अत्याधिक चिसोको बेला पशुपंक्षीहरुलाई चराउन नलैजान र पशुपंक्षीलाई गोठ र टहरामा नै प्रर्याप्त घाँस, पराल र खानाको ब्यवस्था मिलान समेत भनेको छ ।
चिसो मौसममा कोभिड १९ को समेत संक्रमण बढ्न सक्ने तर्फ प्रशासनले ईगिंत गर्दै स्वास्थ्य मापदण्ड अपनाउन र कोठा भित्रै आगो र हिटरको प्रयोग गर्ने अवस्थामा प्रर्याप्त मात्रामा भेन्टिलेशनको ब्यवस्था मिलान समेत भनेको छ ।



