फाईल तस्बिर
गोरखा । प्रतिबन्धित जडीबुटी पाँचऔले सहित गोरखाको केवरपानी क्षेत्रबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका २ केरौजा निवारी ५२ बर्षिय आशमान गुरुङ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
गुरुङलाई प्रतिबन्धित जडीबुटी पाँचऔले सहित उत्तरी गोरखाबाट सदरमुकाम तर्फ आउदै गरेको अवस्थामा आरुघाट गाँउपालिका–३ को केवरपानीमा ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा ५ किलो ६५० ग्राम पाँचऔले फेला पारेको गोरखा प्रहरीले जनाएको छ ।
गएको बिहीबार राती ७ः३० बजे प्रहरीले आशमानलाई खानतलासी गर्दा उक्त परिणामको पाँचऔले फेला पारे लगत्तै नियन्त्रणमा लिएर आईतबार डिभिजन बन कार्यालय गोरखामा आवश्यक कारवाहीको लागि बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
कहाँ पाईन्छ याे ?
पाँचऔँले उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो । यसलाई कतै कतै “पाँच पाते” भनेको पनि सुनिन्छ । यसको पात हातको औँला जस्तै पाँच भागमा विभाजीत हुन्छ । यो एक लहरा प्रजातीको वनस्पति हो । विभिन्न प्रकारका रोगहरू निको पार्नको लागि यसको प्रयोग आयुर्वेदी औषधीको रूपमा गरिन्छ । यसलाई संस्कृतमा सालममिश्री भनिन्छ र हिन्दिमा सालमपन्जा भनिन्छ भने अङ्ग्रेजीमा Salep भनिन्छ ।
पाँचऔँले प्रजातिको बोट र फुल
नेपालीमा यसलाई पाँचऔँले , हत्ताजडी , हाते, औँले, पनि भनिन्छ । यो करीब ३०–९० से.मी. सम्म अग्लो, एउटा मात्र डाँठ हुने गानायुक्त वनस्पति हो । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ । त्यसैले यसको नाम पाँचऔँले तथा सालमा पन्जा रहेको छ । यसका पातहरू पाँच देखि सातवटा सम्म हुन्छन् र डाँठको दायाँ बाँया एक एक वटा हुँदै फूलको डाँठसम्म ठूलोदेखि सानो हुँदै मिलेका हुन्छन् । यसमा जेठ असारमा फूलहरू लाग्दछन् । डाँठको माथिल्लो भागमा साना गुलाफी तथा प्याजी रंगका फूलहरू वरीपरी मिलेर फूल्दछन् । फुलहरूका झुप्पा १२ देखि २० से.मी सम्म लामा र घना हुन्छन् । यो पश्चिमी पाकिस्तान, हिमालय–गढवाल देखि भुटान र दक्षिण पूर्वी तिब्बत (२५०० – ५००० मिटर), सम्म फैलिएको छ । यो विरुवा नेपालको पश्चिम र मध्ये भागमा करिब २८०० – ४००० मिटर सम्मको उचाईमा पाइन्छ ।
यसको फुल मनमोहक हुन्छ तापनि यसको उपयोग गरिने अङ्ग जमीन मुनि रहने गानो हो, जुन पन्जा जस्तो आकारमा तिनदेखि पाँचवटा औँला भएको हुन्छ । यसको फैलावट प्राकृतिक अवस्थामा एकदमै कम छ । त्यसैले नेपाल सरकारले यसको सङ्कलन , प्रयोग , विक्री वितरण , ओसा्र पसार र निर्यातमा प्रतिबन्ध लगाएको छ । यो एक वलवर्धक जडिबुटी मानिन्छ र यसको सुकेको जराको धुलो दुध सँग खाने गरिन्छ । यसको सुकेको जरा घोटेर काटेको घाउमा लगाउँदा रगत रोकिन्छ र छिट्टै निको हुन्छ । शरद ऋतुमा यसका पातहरू पहेँला भई डाँठ सुक्न थालेपछि यसको सङ्कलन गाना निकालिन्छ । गानालाई चोट नलाग्ने गरी खन्नु पर्दछ । खनिसकेपछि गानालाई राम्ररी धोएर घाममा सुकाउनु पर्दछ ।
पाँचऔँलेको औषधीय गुणहरू
यसको गानो अत्यन्तै पोषणयुक्त हुन्छ । मधुमेह, बीर्यमा शुक्राणुको संख्यामा कमी, आउँ परेको, खोकी, ज्वरो, पिसाव सम्बन्धी समस्या, शरीरको एक पाटोमा पक्षघात भएको, क्षयरोग, नसा सम्बन्धी रोगमा, तीब्र किसिमले पेट दुखेमा, जीउ दुखेमा, तागत र यौन शक्ति वा उत्तेजना बढाउन, छालालाई मुलायम बनाउन र चिलाउने कम पार्न यसको गानोको सेवन गरिन्छ । स्थानीय रूपमा यसको जरा पिसेर काटेको र पोलेको ठाउँमा लेप बनाई लगाइन्छ । लेक लागेमा खाद्य कन्दमूलको रूपमा यसको गानोलाई पकाएर खाइन्छ । पाँचऔँलेको सेवनले स्मरण शक्तिपनि बढाउछ ।



