गोरखा । गोरखाका १ जना युवकको उपचारका लागि ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
बोन म्यारो पिडित पालुङटार नगरपालिका–२ खोप्लाङका १७ बर्षिय लक्ष्मण नेपालीको उपचारका लागि एकता स्वयम सेवक संस्थाको पहलमा संकलित रकम ३ लाख ५० हजार परिवारलाई हस्तान्तरण गरिएको हो ।
गएको ५ महिनादेखि काठमाण्डौको सिभिल हस्पिटलमा उपचारत नेपालीको बोन म्यारो ट्रान्सप्लान्टका लागि आर्थिक अभाव भएपछि परिवार समस्यामा परेको समाचार सार्वजनिक भए लगत्तै संस्थाले आर्थिक सहयोग संकलन गरे परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।
बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि संस्थाले दोस्रो पटक नेपालीको परिवारलाई आर्थिक सहयोग जुटाएको समाजसेवी धिरज उपरकोटीले जानकारी दिए ।
सोही संस्थाले यस अघि पनि नेपालीको परिवारलाई २ लाख ५ हजार आर्थिक सहयोग गरेको थियो ।
अहिले संकलित गरेको रकम बोन म्यारो ट्रान्सप्लान्टको लागि न्युन भएकाले देश तथा बिदेशमा रहेका सवैसंग थप सहयोगका लागि अपिल गरिरहेको उपरकोटीले जानकारी दिए । बोन म्यारो ट्रान्सप्लान्ट गर्न २५ लाख आवश्यकता पर्ने परिवारको भनाई छ ।


