गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले भूमिहिन दलित, भूमिहिनसुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम पुनः सुरु गरेको छ । निर्वाचन आचारसंहितका कारण स्थागित भएको काम पालिका भित्रका ८ वटै वडाबाट पुनः सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टका अनुसार भुमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने संघिय सरकारको तयारी अनुरुप पालिकाले पालिका भित्रका वडाहरु मार्फत लगत संकलनको काम अघि बढाएको हो ।
लगत संकलन गरी आज (पुस १७ गतेसम्म) विवरण सिफारिस गर्न वडा कार्यालयलाई समय दिइएको गाउँपालिले जनाएको छ । वडाहरुले विवरण सिफारिस गरेर पठाएपछि पालिकाले गर्नुपर्ने थप काम अघि बढने छ ।
लगत संकलन कार्यबिधि, २०७८ अनुसार वडा कार्यालयहरुले अनुसूची ७ र ७ (क) को ढाँचामा ७ दिने र १५ दिने सूचना निर्वाचन अघि नै प्रकाशन गरी सकेको जनाएको छ । तर निर्वाचन आचारसंहितको कारण बाँकी काम स्थगित भएकाले १ हप्ता भित्रमा कसैको दावी बिरोध वा उजुरी परेको भए वडासमितिले वडा स्तरीय सहजकीकरण समितिको सहयोगमा जाँचबुझ गर्न र आबश्यक निर्णय गर्न भनेको छ ।
उजुरी नपरेको भए सोही अनुसारको व्यहोरा सहितको निर्णय गरी ७ दिने तथा १५ दिने सूचना र निर्णयको प्रतिलिपि सहितको बिबरण पालिकामा सिफारिस गरेर पठाउन गाउँपालिकाले निर्देशन दिएको अध्यक्ष भट्टले जानकारी दिए ।




















