गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभाको संसदीय दलको नेतामा गोरखाका प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् ।
हिजो भएको प्रदेश सभा ससदिय दलको निर्वाचनमा पाण्डेले प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतको मतान्तरले हराउदै पाण्डे बिजयी भएका हुन ।
खसेको कुल २७ मतमा पाण्डेले १८ मत प्राप्त गर्न सफल भएका थिए भने अर्यालले ८ मत प्राप्त गरेका थिए । प्रदेशसभामा भएको २७ मत मध्य १ मत भने बदर भएको थियो ।
दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २ (२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २ (१) बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गराएका थिए ।
पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा.टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ रहेका थिए ।
गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।


