गोरखा । भीमसेन थापा गाउँपालिका भित्र पर्ने कोयापानी–बालुवाटार सडक निर्माणको काम बहुबर्षिय ठेक्कामा राखिदिन पालिकाले सरोकार वाला निकायलाई आग्रह गरेको छ ।
भीमसेन थापा गाउँपालिकाको वडा नम्बर २ र ४ लाई जोडने उक्त सडक थोरै रकमले निर्माण सम्पन्न नहुने भन्दै पालिकाले बहुर्षिय योजनामा राखिदिन ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन ईकाई–३ कुस्मालाई आग्रह गरेको हो ।
आयोजनाले ०७९–०८० को लागि भन्दै कोयापानी–चौतारा–भन्ज्याङ–धावा–बालुवाटार सडक स्तरोन्नतिको लागि १ करोड बिनियोजन गरेको भएता पनि उक्त सडकलाई रकम अभाव हुने र विनियोजित रकममा सडकको स्तरोन्नति हुन नसक्ने भन्दै पालिकाले बहु बर्षिय ठेक्का बन्दोवस्त गरिदिन भन्दै पौष ६ गते आयोजनालाई पत्र सहितको आग्रह गरेको पालिका अध्यक्ष लोक प्रसाद बन्जाराले जानकारी दिए ।
पालिकाले आयोजनालाई लेखेको पत्रमा ‘सडक योजना भिमसेन थापा गाउँपालिकाको वडा नं. २ र ४ जोडने मुख्य सडकका साथै भिमसेनथापा गाउँपालिकाले घोषणा गरेको मुख्य लाईफ लाईन सडक’ भएको भन्दै ‘ठुलो संख्यामा दलित र जनजातिको बसोबास क्षेत्र हुदै जाने उक्त सडक हाल विनियोजिन भएको रकमले पूर्ण रुपमा स्तरोन्नति नहुने हुदा साविकका बर्षातहरुमा जस्तै त्यस सडक प्रयोग गर्ने जनताहरुले आकस्मिक स्वास्थ्य सेवा लागि एम्बुलेन्सको प्रयोग गर्न नपाउने स्थिति कायम नै रहने’ उल्लेख गरिएको छ ।
पालिकाले सडकको पूर्ण स्तरोन्नतिका लागि आवश्यक बजेट समेत ब्यवस्था गरि बहुबर्षिय ठेक्का बन्दोवस्तका लागि पनि अनुरोध गरेको हो ।





















