गोरखा । शहिदलखन गाउँपालिकाले ४ वटा विद्येयक पास गर्दै १२ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद कृष्ण धितालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
बिहिबार भएको हिउँदे सभा तथा अधिवेशनले गाउँसभामा न्यायिक समितिले उजुरी कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ सहित ४ वटा विधेयक समेत पास गरेको छ ।
त्यस्तै संस्था दर्ता गर्न बनेको विधेयक २०७९, मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ र गाउँसभा वैठक सञ्चालन कार्यविधि २०७९ गाउँसभामा सर्वसम्मतले पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए ।
गाउँसभामा राजश्व परामर्श र न्यायिक समितिको वार्षिक प्रतिवेदन समिताकी संयोजक इन्दिरा तिवारीले प्रस्तुत गरेकी थिइन । उनका अनुसार वार्षिक प्रगति प्रतिवेदन पूर्वाधार विकास समितिका संयोजक शरण श्रेष्ठले प्रस्तुत गर्नु गरेका थिए ।
अहिले पालिकाभरि राष्ट्रिय परिचयपत्र बनाउने अभियान संचालन भइरहेका छ । त्यसैले पालिका भित्रका जनप्रतिनिधि र सिमित कर्मचारी मात्र उपस्थिति भई गाउँसभा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत मगरले जानकारी दिए ।




















