गोरखा । बारपाक सुलिकोट गाउँपालिका भित्रका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन गरिएको छ ।
पालिकाको समन्वय तथा नेपाल नेत्रहिन संघ, नेपाल नेत्र ज्योती संघ र भरतपुर आँखा अस्पतालको प्रविधिक सहयोगमा उनीहरुको निःशुल्क अप्रेशन गरिएको हो ।
पालिका भित्र केही साता अगाडी १५ दिनसम्म चलेको आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीहरुको पहिचान गरी अहिले अप्रेसन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए ।
सबैको ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा मंगलबार र बुधबार निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ । शिविरका क्रममा पालिका भित्रका ६०० भन्दाबढी आँखाका बिरामीहरुले आँखा जाँच गराका थिए ।
गाउँपालिका भित्र अन्य ४३ जनाको शल्यक्रिया गर्न बाँकी रहेको पालिकाले जानकारी दिएको छ । उनिहरुको पुष ११, १२ र १३ गते शल्यक्रिया गरिने भएको छ ।
शिविरमा आँखा परिक्षणका क्रममा समस्या देखिएका बिरामीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।



