गोरखा । यस पटक गोरखा जिल्लाबाट मात्रै प्रतिनिधि र प्रदेश सभामा १० जना साँसदहरुले प्रतिनिधित्व गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तरर्गत जिल्लाबाट विभिन्न पार्टीका १० जनाले साँसद पद पाएका हुन् ।
साँसद पद हात पारेका मध्ये जिल्लामा माओवादी केन्द्रले ४, नेपाली काँग्रेस ३, एमाले २ र नेसपा १ रहेका छन् ।
हालै सम्पन्न निर्वाचनमा प्रत्येक्ष तर्फ प्रतिनिधि सभा तर्फ गोरखा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका राजेन्द्र बजगाई र गोरखा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जित हात पारेको हो ।
त्यस्तै गरी प्रदेश सभा तर्फ गोरखा क्षेत्र नम्बर १ (क) बाट माओवादी केन्द्रका कृण्ण धिताल १ (ख) बाट नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने तथा क्षेत्र नम्बर २ (क) बाट नेपाल समाजबादी पार्टीका फणिन्द्र देवकोटा र २ (ख) बाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका हुन् ।
पार्टीले पाउने समानुपाती तर्फ भने माओवादी केन्द्रका हितराज पाण्डे प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रकी सुशिला सिंखडा प्रदेश सभा तर्फ विजयी भएकी छिन् ।
त्यस्तै गरी, नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकाल र प्रदेश सभा तर्फ दिनेशचन्द्र देवकोटा विजयी भएका हुन् । देवकोटा भने बाग्मती प्रदेशको साँसद भएका हुन् ।
गएको ०७४ सालमा भएको निर्वाचनमा भने जिल्लाबाट ९ जनाले साँसद पद पाएका थिए ।


