गोरखा । गोरखाको चम्पावती हाइड्रोपावरमा केही दिन अगाडी भएको तोडफोड र आगजनीको घटनालाई लिएर कम्पनीले आज ‘आपराधिक उपद्रब’ मा ८ जना बिरुद्व मुदा दर्ता गराएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–२ को कुविन्डेमा निर्माणाधिन हाइड्रोपावरमा आगजनी र तोडफोड गरेको भन्दै ८ जना बिरुद्व सोमबार जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दर्ता गराएको हो ।
कम्पनीका सञ्चालक हरिकृण्ण पौडेलले दर्ता गराएको उक्त मुद्वामा लमजुङ जिल्ला राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल र नेपाली काँग्रेस नगर सभापति श्रीकृण्ण पौडेल सहित ८ जनाको नाममा किटानी जाहेरी दर्ता गरेको श्री चम्पावती हाइड्रोपावर लिमिटेडले जानाकारी दिएको छ ।
उजुरीमा लमजुङ जिल्ला राइनास नगरपालिकाका उमप्रमुख पुष्पराज खनाल, राइनास नगरपालिका–६ का फणिन्द्र चिलवाल, हरिप्रसाद चिलवाल, राइनास नगरपालिका–१ का गोविन्दराज न्यौपाने, प्रकाश न्यौपाने र बलराम घिमिरेका साथै राइनास नगरपालिका–३ का श्रीकृण्ण पौडेल र नारायण अधिकारीको नाममा मुद्वा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
प्रहरी कार्यायलयमा परेको उजुरीमा तोडफोड र आगजनीबाट हाइड्रोपावरका ३ करोड ४० लाख रुपैयाँको क्षति भएको उल्लेख गरिएको छ । तोडफोड र आगजनीबाट सर्भे मेसिन १ थान, प्रिन्टर २, कम्प्यूटर २ थानका साथै ल्यापटप ३ थान र फ्रिज १ थान नष्ट भएको उल्लेख गरिएको छ ।
सोही घटनामा युपिएस २, दराज १, टिभी १, कुलर १, राउटर २, डिसहोम १, भवनको झ्याल २८, ग्रिल ५, टेबल ५, कुर्सी ९, टिभी सेटअप बक्स ४, फिल्टर २, मेनलाइनको मिटर बक्स १, एक्साभेटर १, ५ ड्रम पेट्रोल, डिजल १० ड्रम, तेल राख्ने ड्रम २०, हाइड्रोलिक ब्रेक ३, ग्रिज २ ड्रम र हाइड्रोलिक पाइप ६ समेत नष्ट भएको छ ।
पिडित किसानहरुले गरेको भनिएको आन्दोलनमा २–२ वटा ट्रक र मोटरसाइक र २ वटा स्टोर हाउसमा पनि आगजनी गरेको जोहरीमा उल्लेख गरिएको छ ।
तोडफोड र आगजनीका कारण आयोजना समयमा सम्पन्न गर्न नसक्दा लागत अनुमान बढ्नुका साथै समयमा नै बिद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जादाँ आउने आम्दानी समेतले अर्को ६ महिना आयोजना डिलाई हुदा थप ३० करोड क्षति हुने भन्दै जाहेरीमा उल्लेख गरिएका ब्यक्तिहरुबाट मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र (२) कसुर स्थापित हुने भएकाले ऐनको उपदफा (३) को खण्ड (घ) बमोजिम हदै सम्मको कैद तथा जरिबानाको सजाय गरी ऐनको उपदफा (४) बमोजिम बिगो बरावरको क्षतिपुर्ति कसुरदाताबाट भराई पाउन समेत किटानी जाहेरीमा भनिएको छ ।




















