गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाको केन्द्र रहेको भच्चेक बजार क्षेत्रमा जथाभावी पार्किङ र निर्माण सामाग्री थुपार्न तथा होडिङ बोर्ड राख्न निषेध गरेको छ ।
गाउँपालिकाले भच्चेक बजार क्षेत्रलाई पर्यटकिय केन्द्रको रुपमा बिकास गर्न लागेकोले त्यसको सौन्दर्यकरण, पर्यटन प्रवद्र्धन, बजार व्यवस्थापनका लागि त्यसता गतिविधीले असर गर्ने भन्दै रोक लगाएको हो ।
सडकमा जथाभावी पार्किङ गर्दा र निर्माण सामाग्री राख्दा भच्चेक बजारको सौन्दर्यमा असर गर्ने भन्दै नराख्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।
अध्यक्ष देवकोटाले सडकमा सवारी साधन पार्किङ गर्न नपाइने, रात्री कालिन पार्किङ बसपार्कमा गर्नुपर्ने, सडकमा निर्माण सामाग्री राख्न नपाइने, सडकमा सवारी साधन धुन तथा सरसफाई गर्न नपाइने जस्ता नियम बनाएर कार्यान्वयन गर्न खोजिएको जानकारी दिए । साथै पालिकाको राजस्व बृद्धिका लागि पालिका भित्र सञ्चालित सवै उद्योग व्यवसायहरुलाई अनिबार्य दर्ता तथा नविकरण गर्न पनि भनेको छ ।
गाउँपालिकाले १५ दिने सूचना जारी गर्दै जथाभावी राखिएका त्यस्ता सामाग्रीहरु हटाउन पनि भनेको छ ।


