गोरखा । नेवार समुदायले बिहीबार यःमरि पुन्ही मनाएका छन् । देशैभरी मनाएको यो यःमरि पुन्ही गोरखामा पनि नेवार समुदायले धुमधाममा साथ मनाएका थिए ।
नेवा देव दुव गोरखाले पुन्हीको अवशरमा महोत्सव नै आयोजना गरेको थियो । पहिलो पटक आयोजना गरिएको महोत्सव अलि अब्यवस्थित भएता पनि सर्व साधारणले खुशीका साथ महोत्सवमा सहभागीता जनाएका थिए ।
महोत्सवमा यःमरिका साथै नेवा समुदायमा प्रचलित रहेको मासको बारा, चटामरी र छोयला समेत राखिएको थियो । नेवारी परिकारमा प्रचिलित यि परिकार भने स्टल खुल्ला भएको केही बेरमा नै सकिएको थियो ।
दिउसो ३ बजेबाट सुरु गरिएको महोत्सवमा ५ बज्न नपाउदै खानेकुराहरु सकिएको आयोजकले जानकारी गराएको थियो । आयोजक मध्येकै गोरखा बसपार्कका शान्तिदेवी श्रेष्ठले पहिलो पटक आयोजना गरिएको र मानिसको चाप कती हुन्छ भन्ने अनुमान गर्न नसक्दा खाने कुरा पुरर्याउन नसकिएको स्विकार गरिन ।
के हो यःमरि पुन्ही भनेको ?
यःमरि हरेक वर्ष यःमरि पुन्हिको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो । नेवारी भाषामा ‘यः’ अर्थात मन पर्ने र ‘मरि’ अर्थात रोटी भन्ने बुझिन्छ । यःमरि भित्र विषेशगरी चाकु र आजकाल खुवा पनि राख्ने चलन छ । यःमरि पुन्हिको दिन बाहेक महत्वपूर्ण दिनहरु जस्तै जन्मदिन्, घरको उदघाटनमा पनि यःमरि बनाउने चलन छ ।
यःमरि पुन्हिको इतिहास
यःमरि को पुछर जती लामो भयो, पुस को जाडो त्यती नै कम हुने विश्वास जनमानसमा रही आएको छ । यःमरिले पुर्णता र उदरता लाई जनाउछ । जसरी मन्दिरको गजुरले पुर्णतलाई जनाउछ त्यसैगरी यःमरिले पनि पुर्णतालाई जनाउछ ।
पकाउने विधी
यःमरि बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेपाल भाषामा ‘पो/प्वँ’ अथवा ‘जाकि’ भनिन्छ । चामलको पिठो ‘पोचुं’ अथवा ‘जाकिचुं’ चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ । अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै । हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ ।
नेवारी परम्परा अन्तर्गत बनाइने विशेष मिष्ठान्न ‘यःमरि’
मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ । पिठोलाई आकार दिँदा यःमरिको रूप बन्छ । यःमरि बनाउने काम सिपालु काम हो । सीप विना यःमरि बन्दैन । जुन आकारको यःमरि तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ । पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ ।
पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ । बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ । त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ । त्यस्तो आकारको यःमरिलाई ‘बायो’ भनिन्छ । ‘बायो’ आकार विम्बात्मक छ । ‘बायो’ तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ । प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ ।
यःमरिको भित्री भाग
यःमरिको अर्को आकार त्रिकोणात्मक हुन्छ । त्यसलाई ‘मायो’ भनिन्छ । बनाउने तरिका र प्रविधि एकै हो । त्रिकोण पनि विम्बबोधक बन्छ । मायोभित्र तिलचाकु मिश्रण हालिन्न । त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ ।
मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ । मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ । कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ । अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुप/रस पिउँछौँ । मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब बन्छ ।












