गोरखा । मंसिर ४ गते भएको प्रदेश सभा तर्फको निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतगणना सकिएको छ । प्रत्यक्ष तर्फ कांग्रेसले १८, एमालेले १२, माओवादीले ५ र १ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् ।
३६ सिट प्रत्यक्ष र २४ सिट समानुपातिक सहित ६० सदस्यीय प्रदेशसभामा समानुपातिक कोटाबाट गोरखाको को को सँसद छिर्छन् भन्ने चर्चा सुरु भएको छ ।
गण्डकी प्रदेश सभामा कम्तीमा २० जना महिला सांसद हुनुपर्छ । तर प्रत्यक्ष तर्फ २ जनाले मात्रै चुनाव जितेका कारण अब १८ जना समानुपातिकबाट पूर्ति गर्नुपर्छ ।
नेकपा एमालेले समानुपातिकमा १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाउने देखिन्छ ।
नेकपा एमालेले समानुपातिकबाट कम्तीमा ५ जना महिलालाई सांसद बनाउनुपर्छ भने बाँकी ५ जना पुरुषबाट साँसद बन्न पाउँछन् ।
एमालेले आदिवासी जनजातिबाट कम्तीमा ६ जना, दलितबाट कम्तीमा २ जना र खस आर्यबाट २ जनालाई ससदमा पठाउनु पर्ने हुन्छ । एमालेले बुझाएको बन्दसूचीका आधारमा आदिवासी जनजाति तर्फ गोरखाका प्रेम गुरुङ सांसद बन्ने पक्का पक्की भएको छ । तथापि आयोगको नतिजापछि तलमाथि हुन पनि सक्छ ।
नेपाली कांग्रेसले पाएको समानुपातिक तर्फको ९ सिट पुरै महिला निर्वाचित हुने छन् । यसमा आदिवासी जनजातिबाट ४, खसआर्यबाट ३ र दलितबाट २ जना निर्वाचित हुने अवस्था छ । कांग्रेसको समानुपातिक बन्दसूची अनुसार गोरखाबाट कसैले पनि सांसद पद पाउने छैन ।
नेकपा माओवादी केन्द्रले जित्ने ३ सिटमा पनि महिला मात्र निर्वाचित हुने छ । प्रत्यक्षतर्फ खसआर्य पुरुष ४ जना निर्वाचित भएका छन् भने आदिवासी जनजाति पुरुष १ जना छन् । समानुपातिकबाट निर्वाचित हुनेमध्ये कम्तीमा १ जना दलित महिला र २ जना आदिवासी जनजाति महिला हुनुपर्छ । आदिवासी जनजाति महिलाबाट गोरखाकी धना गुरुङ निर्वाचित हुनेछिन् ।
दलहरूले बुझाएको बन्दसूची र प्राप्त मतका आधारमा यो वर्ष मनाङ, तनहुँ र मुस्ताङका समानुपातिक सांसद शून्य हुने छन् । सबैभन्दा बढी बागलुङले ६ जना समानुपातिक सांसद पाउनेछ भने कास्की र लमजुङले समान ४, स्याङ्जाले ३, गोरखा र नवलपुरले समान २ तथा पर्वत र म्याग्दीले समान १ सांसद पाउँछन् ।
आगामी संसदमा कास्की र बागलुङका मात्रै १०–१० जना सांसद हुने छन् ।


