गोरखा । गोरखा बजारका सन्देश प्रधान सहभागी नेपाली ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल टिम विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ । समूहको प्रतिस्पर्धामा तेस्रो भएको टीटूकेले ८० हजार अमेरिकी डलर पुरस्कार पाउने निश्चित भइसकेको छ ।
विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका ३ टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो ।
यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेमा प्रधान संगै अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम र रिग्देन बज्राचार्यको सहभागीता रहेको छ ।
एल्लो ग्रुपमा रहेको टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो ।
जापानको आरसी टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूके भाग्यमानी बनेको हो ।
यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र मलेसियाको फोर एएमले २३१ अंकका साथ क्रमसः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका छन् ।
तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट ३ टिम छनोट भएका हो । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो । डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ ।
समूह चरण र सर्भाइभल चरणका खेलहरु मलेसियामा भइरहेको छ । ३ समूहमा शीर्ष ४ देखि ११औं स्थानमा रहेका टिमबीच सर्भाइभल चरणमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा मंगलबारदेखि ४ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
सर्भाइभल चरणमा पुगेका २४ टिममध्ये १६ टिमले अन्तिम अवसर चरणमा प्रवेश पाउनेछन् । बाँकी ८ टिम बाहिरिनेछन् । अन्तिम चरणमा १६ टिमबीच प्रतिस्पर्धा गरी ५ टिमले फाइनल चरणमा प्रवेशका लागि अर्को अवसर पाउनेछन् ।
फाइनल चरणका लागि ३ समूहबाट शीर्ष ३ गरी ९ टिम र सिधै आमन्त्रण गरिएका २ टिम छन् । बाँकी ५ टिमको टुंगो लाग्न बाँकी छ । फाइनल चरणका खेलहरु इण्डोनेसियाको जाकार्तामा सन् २०२३ को ३ र ४ जनवरीमा हुनेछ ।
समूह चरणमा कुल पुरस्कार राशी २ लाख ५० हजार डलर रहेको छ । समूहको प्रतिस्पर्धामा तेस्रो भएको टीटूकेले ८० हजार अमेरिकी डलर पुरस्कार पाउने निश्चित भइसकेको छ । फाइनल चरणमा उसको प्रतिस्पर्धाका आधारमा पुरस्कार बढ्दै जानेछ । फाइनल चरणको नतिजाका लागि मात्र १ लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार छ ।



