गोरखा । नेकपा एमाले गोरखाले आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गोरखाको दुवै निर्वाचन क्षेत्रमा धाँदली भएको भन्दै पुनः निर्वाचन गराउनु माग गरेको छ ।
निर्वाचन सम्पन्न भएपछि साँझपख एक प्रेस बिज्ञप्ति जारी गर्दै नेकपा एमालेका सचिव काजीराम रोक्काले निर्वाचन क्षेत्र नम्वर १ र २ को विभिन्न केन्द्रमा मृतक तथा अनुपस्थित ब्यक्तिहरुको नामबाट समेत मतदान भएको भन्दै त्यस क्षेत्रमा पुनः मतदान गराउन भनेको हो ।
बिज्ञप्तिमा विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका १ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका ३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न मार्फत माग गरिएको छ ।
ति केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानविन गर्न पनि माग पनि गरिएको छ ।





















