गोरखा । गोरखामा डेंगुका बिरामीको संख्या ५०० माथी पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार कार्तिक मसान्तसम्ममा जिल्ला भित्र डेंगु हुनेको संख्या ५१० जना पुगेको जानकारी दिएको छ ।
देशैभर महामारीको रुपमा फैलिएको डेंगुका कारण जिल्लाको गोरखा नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ १६८ जनालाई डेंगु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।
त्यस्तै गरी, आरुघाट गाँउपालिकामा १६४, पालुङ्टार नगरपालिकामा १०५, भिमसेनथापा गाँउपालिकामा ४२ जनामा संक्रमण देखिएको पनि कार्यालयले जनाएको छ ।
उता शहिदलखन गाँउपालिकामा १३, अजिरकोट गाँउपालिकामा ९, गण्डकी गाँउपालिकामा ५ जना र बारपाक सुलिकोट गाँउपालिकामा ४ जनामा डेंगुको संक्रमण देखिएको छ ।
जिल्लामा सङ्क्रमणका कारण हालसम्म १ जनाको मृत्यु भएको पनि स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




















