गोरखा । गोरखा क्याम्पसले पनि क्युएए प्रमाणपत्र हात पार्न सफल भएको छ । आफ्नो शैक्षिक गुणस्तरलाई विश्वविद्यालयले तोकेको स्तरमा पुर्याए पछि क्याम्पसले क्युएए प्रमाणपत्र पाउन सफल भएको हो ।
गोरखा नगरपालिका–५ को हिलेपोखरीमा रहेको क्याम्पसलाई बुधबार विश्वविद्यालय अनुदान अयोगले एक कार्यक्रम आयोजना गरेर प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।
आयोगका अनुसार गोरखा क्याम्पसले गुणस्तर परिक्षणका सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता भएको र प्रत्यायन परिषदको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गर्ने निर्णय भए अनुसार नै क्याम्पसलाई प्रमाणपत्र हस्तानतरण गरिएको जनाएको छ ।
आयोगले दिएका प्रमाणपत्र लिन क्याम्पस प्रमुख, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका सदस्यहरु र स्वमूल्याङ्कन समितिका सदस्यहरुको समेत उपस्थिती रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
जिल्लाको एक मात्र सरकारी क्याम्पसले क्युएए प्रमाणपत्र पाएको यो नै पहिलो हो । यस अघि गोरखा सदरमुकाममा नै सञ्चालित द्रब्यशाह बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र हात पार्न सफल भएको थियो । यो सहित जिल्लाको २ वटा क्याम्पसले क्युएए प्रमाणपत्र पाउन सफल भएको छ ।
२०३५ सालमा स्थापना भएको गोरखा क्याम्पसले क्युएए प्रमाणपत्र पाउन २०७४ सालदेखी नै प्रयास थालेको क्याम्पस प्रमुख रामशरण बानियाँले जानकारी दिए ।
आयाेगले बुधबार नै नेशनल एकेडेमी अस साइन्स एण्ड टेक्नाेलाेजी कैलाली, मध्यबिन्दु बहुमुखी क्याम्पस नवलपुर र राप्ती बबई क्याम्पस दाङलाई पनि क्युएए प्रमाणपत्र प्रदान गरेकाे छ ।



