गोरखा । उत्तरी गोरखाको मान्वुमा रहेको एक जंगलमा पुरुषको बेवारिसे शव फेला परेको छ । आरुघाट गाउँपालिका–१ को मान्बुमा रहेको पोत्लबी सामुदायिक वनको तिनखोपुवा ढुङाको खोच भित्र अन्दाजी ३५–४० बर्षका बेवारिसे पुरुषको शव फेला परेको जिल्ला आरुघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामजी देवकोटाले जानकारी दिए ।
स्थानियले जंगल जादा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी अठारसयखोला मान्बुबाट पुगेको प्रहरीहरुको टोलीले ढुङाको खोच भित्र रहेको पुरुषको शव निकालेका थिए ।
ईप्रका आरुघाटका प्रनि देवकोटाका अनुसार शव सडीगलेको अवस्थामा फेला परेको र नाम, थर र वतन खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा २–३ महिनादेखी नै मृत्यु भई सकेको हुनुपर्ने अनुपमान प्रहरीले गरेको छ ।
प्रनि देवकोटाका अनुसार मृत्तकको शवबाट खैरो हाफ टिर्सट, निलो जिन्स पाईन्ट, सेतो सोलमा कालो नाईक चिन्ह भएको खैरो जुत्ता, कम्मरमा जी लेखेको कब्जा भएको बेल्ट फेला परेको छ ।
बेवारिसे शव अहिले आरुचनौटे प्रार्थमिक स्वास्थ्य केन्द्र आरुघाटमा राखिएको छ । शवको आजै पोष्टमार्टम हुने पनि प्रहरीले जानकारी दिएको छ ।
गोरखा प्रहरीले उक्त हुलियाँ भएका कोही ब्यक्ति हराएको भए प्रहरीलाई जानकारी दिन समेत आग्रह गरेको छ ।




















