गोरखा । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उर्जामन्त्री आर्चायलाई बर्खास्त गरेका हुन ।
गोरखा–२ घर भएका आचार्यले सत्ता रुढ गठबन्धनका विरुद्ध बाग्लुङ पुगेर मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन प्रस्ताव गरेका थिए । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गरिएको हो ।
आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएका थिए ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट उम्मेदवारको आकांक्षी थिए । तर नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएपछि आर्चाय असन्तुष्ट थिए ।
गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका थिए ।
सुरुमा अर्थ मन्त्रालय पाउनुपर्ने माग गर्दै मुख्यमन्त्रीसँग विवाद गरेका आचार्यले पछि ऊर्जा मन्त्रालयमा चित्त बुझाएका थिए । मन्त्री बनेदेखि नै मुख्यमन्त्री पोखरेल आचार्यसँग रुष्ट भएका आचार्यले पत्रकार सम्मेलन गरेर सरकारको विरोध गरेका थिए ।


