गोरखा । गोरखा सदरमुकाममा रहेको एक निजी स्कुलको कम्पाउण्ड भित्र पसेको चितुवालाई कुकुरले आक्रमण गरेर मारिदिएको छ । सोमबारराती गोरखा नगरपालिका–११ स्थित दशकिलोमा रहेको सेन्त जोसेफ स्कुलको हाताभित्र रहेको कुकुरलाई आक्रमण गर्न आएको चितुवा कुकुरकै आक्रमणमा परेर मरेको हो ।
कुकुरको आक्रमणबाट चितुवा मारिएको अबस्थामा बुझन गएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठलेका अनुसार स्कुल सुरक्षाको लागि राखिएको कुकरको आक्रमणमा परेर चितुवाको मृत्यु भएको जानकारी दिए ।
जोसेफको हाताभित्र छोडिएको १ सेफर्ड जात र २ वटा भोटे कुकुरलाई आक्रमण गर्न आएको चितुवालाई कुकुरले टोकेर मारिदिएको बन कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै घटना स्थल पुगेको गोरखा नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर खड्का अनुसार ३ वटा कुकुर मध्ये २ वटा खोरमा नै बसी रहेको र अर्को भने मरेको चितुवालाई कुरेर बसी रहेको अवस्थामा देखेको जानकारी दिए । उनका अनुसार स्कुलको सुरक्षा गार्डले एउटा कुकुर हराएपछि खोज्दै जाँदा चितुवा मारेर कुरेर बसी रहेको अबस्थामा फेला परेपछि कुकुरले चितुवा मारेको पुष्टी भएको हो ।
घटनास्थलमा डिभिजन बन कार्यालयबाट गएको टोलीले मृताबस्थामा भेटिएको चितुवाको मुचुल्का उठाएर ब्यबस्थापन गरेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । मारिएको चितुवा अन्दाजी २ महिनाको पोथी चितुवा भएको अनुमान गरिएको छ ।
गोरखाको आरुघाटमा पनि केही महिना अगाडी कुकुरले चितुवा मारेको डिभिजन कार्यालयले जनाएको छ ।


