गोरखा । गोरखामा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षधर युवा संगठनहरुले सविंधानको रक्षा, स्थिरता र समृद्धिको लागि वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मात्र मतदान गर्न अपिल गरेका छन् ।
शनिबार तरुणदल, वाईसिएल, युवा संघ र युवा संगठनले संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
संयुक्त अपिलमा शहिदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समपर्ण र नेपाली जनताको वर्षो देखिको अथक संघर्षले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको भन्दै त्यसैको गोर्खाली जनताले वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा मात्र मतदान गर्नुपर्ने उल्लेख गरिएको छ ।
परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने र नचाहने शक्तिहरु यो परिवर्तन विरुद्ध विविधखाले षडयन्त्र गर्न सक्रिय रहेको भन्दै अपिलमा सबै षडयन्त्रहरुलाई मंसिर ४ गतेको निर्वाचनबाट परास्त गर्न वामलोकतान्त्रिक गठबन्धन र गठबन्धन संबद्ध यूवा संगठनहरु प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।
संयुक्त अपिलमा बाम गठबन्धन रहेका युवा संगठनहरुले जिल्लाभर विभिन्न स्थलहरुमा नमूना मतदान गराउने तथा मतदाता शिक्षा अभियान चलाउने, प्रत्यक्ष तर्फको प्रतिनिधिसभा, प्रदेश सभा र समानुपातिक तर्फको मतपत्र, गठबन्धनको अपिल र उम्मेदवारहरुको प्रतिबद्धतता पत्रसहित मतदाता समक्ष पुग्ने समेत जनाएका छन् ।
त्यस्तै सबै मतदान केन्द्रहरुमा बामलोकतान्त्रिक गठबन्धन सम्बद्ध यूवा संगठनहरुको २–२ जना प्रतिनिधितत्व रहने गरि परिचालन कमाण्ड गठन गर्ने, सबै मतदान केन्द्रहरुमा १ बुथ १०० युथ परिचालन गर्ने तथा मातहत समितिका सबै सदस्यहरुलाई बामलोकतान्त्रिक गठबन्धन उम्मेदवारहरुलाई विजय गराउन सक्रिय रुपमा परिचालन गराउने समेत उल्लेख गरिएको छ ।
गठबन्धनको मर्म विपरित कार्य गर्ने सदस्यहरुलाई अनुशासनको कारवाही गर्ने संयुक्त अपिल मार्फत चेतावनी दिइएको छ ।
संयुक्त अपिलमा तरुण दल गोरखाका सभापति आनन्द गुरुङ्ग, वाइसिएल गोरखाका संंयोजक सागर श्रेष्ठ, युवा संघ नेपालका जिल्ला इन्चार्ज रेखा लोप्चन तामाङ र नेपाल समाजबादी युवा संघ जिल्ला समन्वय समितिका उपाध्यष नरेश बरामले हस्ताक्षर गरेका छन् ।



