गोरखा । गोरखा अस्पतालको चिकित्सकलाई कुटपिट गरेका ३ जना युवाहरु जनही डेढलाख धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले ३ जना युवाहरुलाई जनही १ लाख ५० हजार धरौटी लिएर तारेखमा छाडेको हो ।
कार्तिक ६ गते आइतबार युवाहरुले डा.अविनाश पराजुलीलाई कार्यकक्षमा नै चुकुल लगाएर कुटपिट गरेका थिए । कुटपिट लगत्तै फरार भनिएका गोरखा नगरपालिका–९ का २८ वर्षका समीर कुवँर, सोही स्थानका १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६ वर्षका प्रमोदजंग कुवँरलाई कार्तिक १४ गते सोमबार गोरखा सदरमुकामबाट नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चिकित्सक कुटपिट घटनाका बारे चौतर्फी बिरोध भए लगत्तै प्रहरीले पक्राउ परेका तिनै जना बिरुद्व स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन, २०७९ को दफा ३ (ग) बमोजिम कारबाहीको लागि प्रशासनमा मुद्दा दर्ता गराएको थियो ।
प्रहरीले अनुसन्धान पछि प्रशासनमा कार्तिक १७ गते पेश गरेको र सोही दिन तिनै जनालाई जनही १ लाख ५० हजार धरौटी लिएर तारेखमा छाडेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिए ।
घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन, २०७९ को दफा ३ (ग) मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्याउन नपाइने उल्लेख छ ।
यस्तो कार्य गरेमा ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, दफा ३ (च) मा भने १ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।


