गोरखा । गठबन्धनका उम्मेदवार बिरुद्व उम्मेदवारी दर्ता गराएका राजेन्द्र पराजुलीलाई नेपाल समाजबादी पार्टीले पार्टीबाट निश्काशित गरेको छ । पराजुलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्काशित गरिएको हो ।
पराजुलीले गठबन्धनका उम्मेदवार बिरुद्व गोरखा क्षेत्र नम्बर १ को (ख)बाट प्रदेश सभा सदस्यकालागि बागी उम्मेदवारी दर्ता गराएका थिए ।
पार्टीले बिहीबार एक सूचना जारी गर्दै पराजुलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको कुरा सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष डा.बावुराम भट्टराईले हस्ताक्षर गरेको सूचनामा ‘नेपाल समाजबादी पार्टीका संघिय परिषद सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष राजेन्द्र पराजुलीले गठबन्धनको मर्म र पार्टीको नीति विपरीत प्रदेशसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ को (ख) बाट गठबन्धन उम्मेदवारको बिरुद्व (बागी) उम्मेदवार दिएकोले पार्टीको विधान विपरीत र गठबन्धनको मर्म अनि निर्णय बिरुद्व भएकोले साथै नेपाल समाजबादी पार्टी गण्डकी प्रदेश कमिटीबाट कारवाहीको सिफारिस भई आएकोले पार्टीबाट निश्कासीत गरिएको जानकारी गराइन्छ’ भनिएको छ ।
पार्टीले गठबन्धनका बिरुद्व जाने, उम्मेदवारी दिने तथा उम्मेदवारको प्रस्ताव र समर्थक रहेका सबैलाई कारवाही गरिने भन्दै त्यस्ता ब्यक्तिको नामावली केन्द्रिय कार्यालयमा कारवाहीको लागि सिफारीस गर्न समेत भनेको छ ।


