गोरखा । गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटपिटको विरोधमा हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
गत कात्तिक ६ गते ओपिडीमा काम गरिरहेका डा.अविनाश पराजुलीमाथी अराजक समूहले ढोका थुनेर कुटपिट गरेका थिए ।
त्यसैको बिरोधमा उनीहरुले मंगलबार साँकेतिक विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर काम गरिएको गोरखा अस्पताल प्रशासनले जानकारी दिएको हो ।
प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा गएको शनिवार गोरखा नगरपालिका–९ बस्ने २८ वर्षका समीर कुँवर, सोही ठाऊँका १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राऊ गरेको कानूनी कारवाहीको लागि अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
अस्पतालले दिएको निवेदनका आधारमा उनीहरुविरुद्ध कात्तिक ७ गतेनै जिल्ला प्रशासन कार्यालयमा अभद्र ब्यवहार सम्बन्धी मुद्धा दर्ता गरिएको भएता पनि प्रहरीले ढिला गरी गोरखा अदरमुकामबाट शनिबार मात्र पक्राउ गरेको थियो ।
पक्राऊ परेको मितिबाट लागू हुने गरि सोमवार जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
आन्दोलनरत् कर्मचारीहरुले पक्राउ परेका युवाहरुलाई फितलो मुद्वा दर्ता गरेर प्रहरी र प्रशासनले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरेको आरोप समेत लगाएको छ ।


