सन्दर्भ तस्बिर
गोरखा । गोरखा अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनामा संलग्न ३ नै जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुवँर, सोहि स्थानका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६ वर्षीय प्रमोद जंग कुवँरलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले जानकारी दिए ।
पक्राउ परेकाहरुले गत कार्तिक ६ गते आइतबार दिउँसो बिरामीको चेकजाँचको बिषयलाई लिएर अस्पतालमा कार्यरत डा.अविनाश पराजुलीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।
घटना लगत्तै फरार भएका उनीहरुलाई प्रहरीले विभिन्न जिल्लामा पिछा गर्ने क्रममा गोरखा बजारमा आएर लुकी बसेको अवस्थामा गोरखा प्रहरीले पक्राउ गरेको हो ।
घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
दोषीलाई कारवाही नभए चरणबद्व आन्दोलन गर्ने भन्दै अस्पतालका कर्मचारीहरुले प्रेस बिज्ञप्ती पनि जारी गरेका थिए ।
पक्राउ परेकाहरु बिगतमा पनि विभिन्न घटनामा संलग्न भएकोले प्रहरीले उनीहरुलाई कस्तो खालको कारवाही गर्छ भनेर निगरानी गरिरहेका छन् ।


