गोरखा । डाक्टरलाई हातपात गर्ने समूहलाई कारवाही नभए चरणबद्व आन्दोलन गर्ने कर्मचारीहरुले निर्णय गरेका छन् । गोरखा अस्पतालमा कार्यरत डाक्टर अबिनाश पराजुली माथी आक्रमण गर्ने समूहलाई कारवाही नभए अस्पतालमा काम गर्ने कर्मचारीहरुले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरुले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै ‘अस्पतालका मेडिकल अधिकृत डा अविनाश पराजुली माथि भएको सांघातिक आक्रमण प्रति अस्पताल अस्पताल कर्मचारीको ध्यानाकर्षण’ भएको भन्दै ‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई हातपात गर्ने दोषी माथि कानून बमोजिम कारवाही होस भनि प्रशासन समक्ष माग गर्दछौ । साथै दोषीलाई कारवाहीको दायरामा नल्याउदासम्म चरणवद्व रुपमा बिरोधका कार्यक्रमहरु ल्याउने घोषणा गर्दै अविलम्ब रुपमा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति गराइदिनुहुन समेत हार्दिक अपिल गर्दछौ’ भनिएको छ ।
अस्पतालमा कार्यरत कर्मचारीहरुको सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गर्दै ‘आफ्नो कार्यकक्षमा सेवाग्राहीको सेवाका लागि खटिएको चिकित्सक माथि आक्रमण हुदा अस्पतालमा सम्पूर्ण कर्मचारीहरुले असुरक्षित महशुस गरेका छौ’ भन्दै ‘प्रदेशकै एउटा नमूना अस्पताल बनाउन लागेका हामी सबै कर्मचारीहरुको मनोबल गिरेको छ । हामी दिन रात चाडपर्व नभनी हाम्रो हैसियतले भ्याएसम्म सेवा प्रदान गर्दै आएको’ बिज्ञप्तीमा भनिएको छ ।
यता प्रहरीले भने दोषी पहिचान भएको तर उनीहरु फरार भएका कारण पक्राउ गर्न सफल नभएको भन्दै दोषीलाई कानूनी कडघरामा ल्याउने र कानूनी कारवाही गरेरै छाड्ने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए । उनले दोषीलाई पक्राउ गर्न सिभिल ड्रेसमा समेत प्रहरी परिचालन गरिएको जानकारी दिदै चिकित्सक र कर्मचारीलाई निर्धक भएर स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे ।
डा.पराजुली माथि आइतबार ३ जना युवाहरुको समूहले दिउसो ४ः१५ देखी ४ः४५ बजेको बिचमा आक्रमण गरेर फरार भएका थिए । युवाहरुले अस्पताल परिषरमा नै पार्किङ गरेको मोटरसाइकल लिएर भागेका थिए ।





















