गोरखा । गोरखा र मनाङ्गको अन्तरजिल्ला बैठक गोरखा सदरमुकाममा सम्पन्न भएको छ । बैठकले सीमावर्ती क्षेत्रमा हुने अवैध क्रियाकलापको निगरानी बढाएर रोक्ने निर्णय गरेको छ ।
‘शनिबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको संयुत्त बैठकले त्यस्ता गतिविधिका बारेमा एकले अर्को जिल्लालाई सुचना दिने र अवैध हातहतियार, बिष्फोटक पदार्थ, लागु औषध, जडिवुटी तस्करी, बन्यजन्तु तस्करी तथा कानूनले बर्जित गरेको बस्तुहरुको चोरी निकासी र ओसारपोसार रोक्ने निणर्य गरेको छ ।
बैठकका बारेमा जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालका अनुसार गोरखाको सामागाउँ १ र मनाङ्गको भिमथाङ नाका भएर हुने कुनै पनि अवैध गतिविधिका बारेमा शुष्म अध्ययन गर्ने, एउटा जिल्लामा घटना घटाएर अर्को जिल्लामा गएर बस्नेहरुका बारेमा जानकारी लिने निर्णय भएको छ ।
गोरखामा पर्ने मनास्लु क्षेत्र र मनाङमा पर्ने अन्नपूर्ण पदमार्ग भित्र आउने पर्यटकको गतिविधिको समेत निग्रानी गर्ने र त्यस्तो सुचना आदनप्रदान गर्ने निर्णय भएको सप्रजिअ बरालले जानकारी दिए ।
बैठकले दुबै जिल्लाका सुरक्षा निकाय बिच समन्वय बढाउने, खोज र उद्धारमा सहकार्य गर्ने तथा सीमाभित्र पर्ने अवरुद्ध पदमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको छ ।
त्यसका साथै निर्वाचन बिरोधी गतिविधिको नियन्त्रण लगायत ११ वटा निर्णय गरेको छ ।
बैठकमा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य र मनाङ्गका प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्य सहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरु सहभागी भएका थिए ।

यस अघि असोज २८ गते गोरखाको पालुङटारमा गोरखा, लमजुङ र तनहुँका सुरक्षा समितिका पदाधिकारीबिच अन्तर जिल्ला बैठक सम्पन्न भएको थियो ।
दुवै बैठकमा आगामी मंसिर ४ गतेको निर्वाचनलाई कसरी शान्तिपूर्ण बनाउने र सिमाक्षेत्रबाट हुन अवैध गतिविधि नियन्त्रणको बिषयमा केन्द्रित रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।


