गोरखा । वन तथा वातावरण मन्त्रालय वातावरण विभागले विहिबार एक सूचना जारी गर्दै देशभर प्लाष्टिकका फुलमाला बेच्न नपाइने निर्णय गरेको छ । सूचनामा नजिकिँदो तिहार र छठ जस्ता चाड पर्वहरुमा प्लाष्टिक जन्य फुलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डरण गर्न प्रतिबन्ध लगाएको उल्लेख छ ।
सोहि निर्देशनलाई पालना गर्दै शुक्रबार पर्यटन तथा उद्योग कार्यालय गोरखाका कार्यालय प्रमुख सूर्य भुजेलको नेतृत्वमा रहेको जिल्ला बजार अनुगमन टोलिले गोरखा बजार क्षेत्रमा विक्रि वितरण का लागि राखिएका सबै प्लाष्टिकका फुलमाला हटाएको छ ।
गोरखा नगरपालिका ८ स्थित खोलखोले देखि नयाँ बसपार्क सम्म भएको बजार अनुगमनका क्रममा बेच्नलाई राखिएका प्लाष्टिकका फुलमा हटाउनुका साथै विक्री नगर्न निर्देशन दिएको छ ।
बजार अनुगमन टोलिको निर्देशनलाई अवज्ञा गर्दै प्लाष्टिकका फुलमाला बेचविखन गरेको पाएमा कानुन अनुसार कारवाही हुने उनले चेतावनी दिए ।
खोलखोलेदेखि नयाँ बसपार्क सम्मका किराना, वर्कसप, कस्मेटिक, होटल, रेष्टुरेन्ट, खाजाघर, मिठाईपसल, टेलरीङ उद्योग, टायरउद्योग, खाद्यय पसल, तरकारी गरी करिब ४५ वटा भन्दा बढी पसलको अनुगमन गरेको थियो ।
सोहि क्रममा प्लाष्टिकका फुलमाला राखिएका २० वटा पसलबाट तत्काल ति फुलमाला हटाउन निर्देशन दिएको थियो ।
त्यस्तै गरी, श्रेष्ठ किराना स्टोर्समा बिक्रिका लागि राखिएको संजय सेलर एण्ड चिउरा मिलमा उत्पादन भएको ५० केजीको दुर्गा छाप सोना मन्सुली चामलमा उत्पादन मिति नराखिएको भेटिएको छ । ६२ वटा बोरामा उत्पादन मिति, विक्री मूल्य नभएकाले तत्काल कम्पनीमा फिर्ता पठाउन अनुगमन टोलीले निर्देशन दिएको छ । सो सामाग्री फिर्ता पठाएको प्रमाण जिल्ला प्रशासन कार्यालय, गोरखामा पेश गर्न निर्देशन दिइएको र अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय रौतहटलाई टेलिफोन मार्फत उक्त उद्योगका निरिक्षण गर्न समेत अनुरोध गरिएको छ ।
अनुगमन टोलिले फुटपाथमा अनाधिकृत रुपमा बेच्न राखिएका भाइटिकाका सप्तरङी रङ टिका लगायतका सामग्री हटाइएको छ । तिहारलाई लक्षित गरेर राखिएको विभिन्न रङका सामग्री हटाइएको हो ।
अनुमगनको क्रममा केही पसलमा विक्री सामाग्रीको मूल्य सूची नटाँसिएको, पसल सरसफाई नगरेको, सम्बन्धित निकाय दर्ता, नविकरण नगरेको भेटिएको थियो । उनीहरु सामान मूल्य सूची सबैले देख्नेगरी टाँस्न, पसलको दर्ता, नविकरण समयमै गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ ।
कार्यालयले भदौ २३ गतेको बजार अनुगमतको क्रममा दिएका सुझावहरु तथा निर्देशन अधिकांश पसल वा व्यवसायीले पालना गरेको पाइएको छ ।
पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सूर्य भुजेलको नेतृत्वमा भएको बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठ, गोरखा नगरपालिकाका राम कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाका सरुवन राउत अहिर, नेपाल पत्रकार महासंघ गोरखाका केशव गुरुङ, उद्योग वाणिज्य संघ गोरखाका मनकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




















