गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिला तर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन ।
प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेल सम्पन्न हुँदा सवै खेलमा जित निकाल्न सफल भएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।
लोहनीले क्लासिक इभेन्टको पहिलो चरणमा बाग्मती प्रदेशका मार्सल तामाङ, दोस्रो चरणमा सशस्त्र प्रहरी बलका सुरुची थिङ, तेस्रो चरणमा त्रिभुवन आर्मी क्लबका सिन्दिरा जोशी र चौथो चरणमा प्रदेश नम्बर १ का खुस्वु थापालाई पराजित गरेका थिए ।
त्यस्तै क्लासिकल चरणको पाँचौ चरणको खेलमा लोहनी प्रदेश नम्बर १ का खेलाडी कृतिसारा अधिकारी, छैटो चरणको खेलमा नेपाल पुलिस क्लबका पुनम प्रसाई, सातौ चरणको खेलमा गण्डकी प्रदेशका पुजा भण्डारी र आठौ चरणको खेलमा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडी शान्ति धमला र नवौँ चरणमा एनआरएनएका सुशिला गुरुङलाई पराजित गर्न सफल भएका थिए ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकै सिन्दिरा जोशीले ७ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै रजत पदक जित्न सफल भइन । भने प्रदेश नम्बर १ की खुस्वु थापाले ६ खेलमा जीत र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ ।
स्वर्ण पदक बिजेता लोहनीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला क्लासिक तर्फको क्लासिकल इभेन्टमा सवै खेल जितेर स्वर्ण पदक बिजेता बन्न सफल भएकी थिइन ।



