सन्दर्भ तस्बिर
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बर्तमान बामलोकतान्त्रिक गठबन्धन निर्वाचनको लागि नभई संबिधानको रक्षाको लागि बनेको बताए ।
गोरखा जिल्लामा शनिबार सत्ता गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै उनले संबिधान नै खतरामा परेका बेला बर्तमान संबिधानको रक्षाका लागि गठबन्धन बनेको बताए । ‘यो अहिलेको निर्वाचनका लागि गठबन्धन बनेको होइन, अध्यक्ष प्रचण्डले भने, ‘संबिधान ध्वंस्त पार्ने अबस्था आएपछि त्यसको रक्षाका लागि गठबन्धन निर्माण गरिएको हो ।’
अध्यक्ष प्रचण्डले संबिधान रक्षा गर्न गठित गठबन्धन निर्वाचनसम्म आइपुगेको भन्दै ‘पटक–पटक संबिधान च्यात्ने कोशिस भएपछि यहीँ गठबन्धनले संबिधानको रक्षा गरेको हो, उनले भने, ‘अब यसलाई मसिर ४ गतेको चुनावमा सदुपयोग गर्नुपर्छ ।’
अध्यक्ष प्रचण्डले आफू नयाँ रेकर्ड बनाउने उदेश्य सहित गोरखामा आएको भन्दै यसको छुट्टै महत्व रहेको समेत बताए । ‘गोरखा जिल्ला आफ्नो लागि अपरिचित जिल्ला होइन, उनले भने, ‘गोरखाको भुगोल, संंस्कृति र जनतालाई मैले राम्रोसंग बुझेको छु ।’
उनले आफू गोरखा २ नम्बर क्षेत्रबाट निर्वाचन लड्न लागेको भएपनि समग्र गोरखा जिल्लालाई आधार बनाएर देशको आर्थिक सम्बृद्धिको थालनी पनि गोरखाबाट नै गर्ने उदघोष गरे ।
अध्यक्ष प्रचण्डले नेपालमा थुप्रै राजनीतिक परिवर्तन भएपनि आर्थिक सम्बृद्धिसंग जोडेर अघि बढाउन नसक्दा दिगो हुन नसकेको समेत बताए ।




















