फाईल तस्बिर
गोरखा । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो ।
पहिलो संविधानसभामा रोल्पा र काठमाण्डौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाण्डौं–१० मा उठे । काठमाण्डौं १० मा हारेका उनी सिराहामा मुस्किलले जिते । प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए ।
यो पटक पनि चितवनबाट नै उठ्न चाहन्थे । उनले पटकपटक सार्वजनिक कार्यक्रममा त्यही कुराको घोषणा समेत गरेका थिए । तर सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको र प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेको कारण उनलाई पार्टीले गोरखा क्षेत्र नम्बर २ वाट उठाउदा सुरक्षित हुने गरी निर्णयमा पुग्यो ।
देशैभरका अन्य चुनावी क्षेत्र भन्दा पनि गोरखा २ नै तुलनात्मक रुपमा सुरक्षित भएकाले गोेरखाबाट नै उम्मेदवार बनाउने निर्णय भएको एक माओवादी उच्च नेताले जनाकारी दिए ।
गोरखा क्षेत्र नम्बर २ बाट अघिल्लो पटक डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए । हाल भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको छ भने भट्टराई आफैं यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका छन् ।
यो क्षेत्रबाट टिकटका आकांक्षी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ पनि प्रचण्ड आउने भएपछि चुनाव नलड्न सहमत भए ।
सत्ता गठबन्धनमा रहेको कांग्रेसका सुरेन्द्र पाण्डेले पनि टिकटको दाबी गर्दै आएका छन् । तर प्रचण्ड चितवन ३ छाडेर गोरखा २ जाने भएपछि कांग्रेस नेतृत्वले सहमति जनाएको गठबन्धनका नेताहरु बताउँछन् ।
चुनावी अंकगणित :
३० वैशाखको स्थानीय निर्वाचन अनुसार गोरखा २ मा माओवादी केन्द्र पहिला दल हो । वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा माओवादीले २२ हजार २५० मत छ । कांग्रेस हाराहारीमा छ । उसका वडाध्यक्ष उम्मेदवारहरुले २१ हजार १३६ मत छ भने जसपाको ७ हजार ५०४ मत छ ।
नेकपा एमालेको ७ हजार ९२६ मत छ । अरु दलको मत हजार कटेको छैन । त्यसैले पनि यो क्षेत्र सुरक्षित भएको भन्दै प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने निर्णय भएको हो ।




















