गोरखा । आगामी मंसिर ४ गते हुन लागेको संघ तथा प्रदेशको सभा निर्वाचनका लागी गोरखाको दुई वटै निर्वाचन क्षेत्रमा आज कार्यालय स्थापना गरिएको छ ।
संघिय निर्वाचन क्षेत्र अन्र्तगत क्षेत्र नम्बर १ को मुख्य र क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचन कार्यालय गोरखा नगरपालिका–६ मा रहेको जिल्ला समन्वय समितिको भवनमा र क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय गोरखा नगरपालिका वडा नम्बर ९ स्थित दलभन्ज्याङमा रहेको भु–सरंक्षण कार्यालयको भवनमा स्थापना गरिएको हो ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार शनिबार संघ तर्फको दुइवटै निर्वाचन क्षेत्रमा र मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए । ‘संघिय निर्वाचन क्षेत्र अन्तरर्गत पर्ने प्रदेशसभाका निर्वाचन कार्यालय पनि त्यहीँ रहने गरी कार्यालय स्थापना गरिएको हो, उनले भने, ‘क्षेत्र नम्बर १ को मुख्य निर्वाचन कार्यालय क्षेत्र नम्बर १ भित्रै र क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय क्षेत्र नम्बर २ भित्रै पर्ने गरी कार्यालय स्थापना गरिएको छ ।’

क्षेत्र नम्बर १ को मुख्य निर्वाचन कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्माले गरेका थिए । त्यस्तै २ नम्बर क्षेत्रको निर्वाचन कार्यालयको उद्घाटन जिल्ला न्यायधिस शर्मा र बिशेष अदालत काठमाण्डौका उपसचिव तथा २ नम्बर क्षेत्रका मुख्य निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले संयुक्त रुपमा गरेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ ।
दुबै कार्यालयहरुबाट मंसिरमा हुने निर्वाचन सम्बन्धी सवै काम हुने निर्वाचन अधिकारी कोइरालाको जानकारी दिए ।
‘निर्वाचनका लागि गर्नुपर्ने सवै प्रकारका प्रशासनिक काम, मनोनयन दर्ता, मतदान सामाग्री भण्डारण, मतगणना लगायतका कार्य मुख्य निर्वाचन कार्यालयबाट हुन्छ, उनले भने, ‘कार्यालय स्थापनासँगै जिल्लामा औपचारिक रुपमा निर्वाचनको तयारी शुरु भएको छ ।’
शनिबार नै कार्यालयले जिल्ला भित्र क्रियाशिल रहेका दल तथा नागरिक समाज र सरोकारवाला कार्यालयका प्रतिनिधिहरुलाई निर्वाचन आचारसंहिता बारेमा प्रशिक्षण गराएको थियो ।

संघ र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले यही असोज २३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
मनोनयन दर्ताका क्रममा २५ जना भन्दा कमको मात्र जुलुस गर्न पाइने र बाजा बजाउन नपाउने आचारसंहितामा उल्लेख गरिएको छ ।
उता उमदे्वारले मनोनयन दर्ताका क्रममा सम्पत्ति विवरण भरेर खामबन्दी गरेर बुझाउनुपर्ने व्यवस्था समेत रहेको जिल्ला निर्वाचन अधिकारी कोइरालाले जानकारी दिए ।




















