गोरखा । गोरखाको आरुघाट गाउँपालिका मान्बु–१ को स्याम्चेतका पहिरो पिडितको पुर्नबासका लागी घर निर्माणको कार्य सुरु भएको छ ।
पहिरोबाट बिस्थापित भएका २८ घर परिवारलाई वडा नम्बर २ स्थित मान्बुको सुरक्षित स्थानमा पुर्नबास गर्न लागिएको हो ।
पुर्नबासका लागी पहिरो पिडितहरुलाई गाउँपालिका र स्वाराँ सघन गाउँबिकास केन्द्रले घर निर्माण गरिदिन लागेको पुर्ननिर्माण समितिका अध्यक्ष कुमार लामाले जानकारी दिए । ‘घर निर्माणका लागी निर्माण सामाग्री लैजान बाटोको समस्या भएको छ, उनले भने, ‘सकभर छिटोभन्दा छिटो घर निर्माणका लागी आबश्यक पहल गरिरहेका छौ ।’ उनले पहिरोबाट बिस्थापित भएकाहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएको समेत जानकारी दिए ।

पुर्नबासका लागी जमिनदेखि २ फिटसम्म ढुङगामाटो गाह्रो र त्यसमाथि जस्ताको प्रयोग गरेर घर निर्माण गरिने भएको छ । घर निर्माणका लागी जग खन्ने काम सुरु भइसकेको छ । प्रत्येक घरमा २ कोठा, १ धारा र १ शौचालय निर्माण निर्माण हुने स्वाराँ सघनले जनाएको छ ।
स्वाराँ सघनले घर निर्माण गर्न प्रत्येक परिवारलाई १ लाख ५० हजार रुपैया बराबरको निर्माण सामाग्री उपलब्ध गराउने कार्यकारी निर्देशन सिताराम श्रेष्ठले जानकारी दिए ।
पहिरो पिडितहरुलाई गाउँपालिकाले समेत प्रति परिवार २० हजार रुपैया नगद उपलब्ध गराउने गाउँपालिकाले अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

पहिरोबाट बिस्थापित भएकाहरुको पुर्नस्थापनका लागी घर निर्माण सुरु गर्न लागेको स्थानको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर नेतृत्वको टोलीले स्थलगत अनुगमन समेत गरेको छ ।
अनुगमन टोलीमा समन्वय समितिकी उपप्रमुख लिला परियार, समन्वय समितिकी सदस्य मिरा उपरकोटी, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल लगायतको सहभागिता रहेको थियो ।


