गोेरखा । शहीद लखन गाउँपालिकाले डेंगु तथा स्क्र्रब टाइफसको निशुल्क परीक्षणको व्यवस्था गरेको छ ।
गाउँपालिकाले देशभरी फैलिरहेको डेंगुको महामारी न्युनिकरणका लागि गाउँपालिका भित्रका बिभिन्न ३ वटा स्वास्थ्य चौकीहरुमा डेंगु तथा स्क्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।
पालिकाले सर्व साधारणलाई सहज होस भन्दै वडा नम्बर १ स्थित बक्राङ स्वास्थ्य चौकी, वडा नम्बर ७ स्थित बुङकोट स्वास्थ्य चौकी र वडा नम्बर ६ स्थित धैरुङ स्वास्थ्य चौकीमा निशुल्क डेंगु र स्क्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको उनले बताए ।
‘डेंगु र स्क्रब टाइफसका लक्षणसंग मिल्दो जुल्दो लक्षण देखिएका गाउँपालिकाबासीहरुलाई पायक पर्ने स्थानमा गई स्वास्थ्य परीक्षण गराउन पनि गाउँपालिका अध्यक्ष थापामगरले अनुरोध गरेका छन् । अध्यक्ष थापामगरले डेंगु र स्क्रब टाइफसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्न, लामो बाहुला भएको कपडा प्रयोग गर्न, झुल प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।
त्यस्तै घर वरपर पानी जम्ने टायरहरु नराख्न, सकभर खुल्ला चउरमा नबस्न पनि गाउँपालिकाले भनेको छ । गोरखामा पछिल्लो पटक डेंगी र स्क्र्रब टाइफसका संक्रमण बढ्दै गएपछि गाउँपालिकाले समयमा सचेत रहन समेत अनुरोध गरेको छ ।




















