गोरखा । गोरखाको विभिन्न स्थानिय तहमा डेंगु संगै स्क्रब टाईफसको संक्रमण पनि उच्च देखिन थालेको छ ।
स्वास्थ्य कार्यालय गोरखाले आज सार्वजनिक गरेको रेकर्ड अनुसार ९५ जनामा डेंगु देखिदा ५० जनामा स्क्रब टाईफस देखिएको महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए । ‘डेंगु संगै स्क्रब टाईफस पनि देखिन थालेको छ’ अर्यालले भने ‘सावधानी नअपनाउने हो भने यसले महामारीको रुप लिन सक्छ ।’
कार्यालयले सोमबार सार्वजनिक गरेको रेकर्ड साउन १ गते यताको हो । सार्वजनिक रेकर्ड अनुसार सबै भन्दा धेरै गोरखा नगरपालिकामा देखिएको छ । जहाँ डेंगुका ५९ र स्क्रब टाईफसका ३८ जना बिरामी फेला परेका छन् ।
गत बर्ष कोरोना महामारीका कारण डेंगु र स्क्रब टाईफसका बिरामी खासै नदेखिएको भएता पनि यो बर्ष भने दुवै रोगका बिरामी अत्याधिक मात्रामा देखिनुले माहामारीको संकेत देखाउने फोकल पर्सन अर्यालले जानकारी दिए ।
\गोरखा नगरपालिका पछि आरुघाटमा डेंगु र स्क्रब टाईफसका बिरामी धेरै देखिएका छन् । जहाँ २१ जना डेंगुका बिरामी फेला परेका छन् भने १२ जना स्क्रब टाईफसका बिरामी फेला परेको कार्यालयको रेकर्डमा उल्लेख गरिएको छ ।
अन्य पालिका भने स्क्रब टाईफसका बिरामी अहिलेसम्म देखान नपरेको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी, पालुङटार नगरपलिका र गण्डकी तथा भीमसेन थापा गाउँपालिकामा भने डेंगुका बिरामी देखा परेका छन् ।
ति मध्ये पालुङटार नगरपालिका डेंगु रोगका बिरामी देखा पर्नेमा तेस्रो स्थानमा परेको छ । जहाँ अहिलेसम्म १३ जनामा डेंगु संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
उता भीमसेन थापा र गण्डकी गाउँपालिकामा भने १–१ जनामा डेंगुको संक्रमण देखिएको फोकल पर्सन अर्यालले जानकारी दिए ।

स्वास्थ्य कार्याल गाेरखाले आज जारी गरेकाे रेकर्ड
के हो स्क्रब टाईफस
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्क्रब टाईफस कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको रोग हो ।
कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुने, टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने गर्दछ अन्यथा यो रोगले ज्याने लिने गरेको छ ।
बच्ने उपाय
किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्छ।



