गोरखा । क्लिन गोरखाले आज पत्रकार सम्मेलन गर्दै गोरखा नगरपालिकाको फोहोर उठाउन बाटोको कारण समस्या भएको जनाएको छ ।
नगर क्षेत्रको फाेहर व्यवस्थापनको जिम्मेवारी पाएको क्लिन गोरखाले डम्पिङ साइडमा जाने बाटोमा पहिरो र बर्षातका कारण फोहोर लैजान समस्या भएको जानकारी दिएको हो ।
पत्रकार सम्मलेनमा सञ्चालक मध्येका दिपेन्द्र श्रेष्ठल फोहोर फ्याँक्ने (डम्पिङ साईड) मा जाने बाटो भिरालो भएको र केही दिनदेखी बर्षाले बाटोमा पहिरो गएकोले पनि नगर क्षेत्रको फोहर उठाउन समस्या भएको बताए । ‘हामी दिनको १० पटक पनि फोहर उठाउन तयार छौ’ सञ्चालक श्रेष्ठले भने ‘तर बाटो अत्यन्तै भिरालो भएकोले गाडी चिप्लेर जान र आउन नसक्ने भएकोले फोहर उठाउन नसकिएको हो ।’
‘३ दिन अगाडी मात्र २ वटा सवारी साधानमा फोहर लिएर गएको थियो । माथी उक्लने बेलामा चिप्लीएर आज बल्ल निकाल्यौ । त्यही सवारीमा आज हामीले फेरी नगरको फोहर उठाएर नगरपालिकाको गेटमा लगेर राखेका छौ’ सञ्चालक श्रेष्ठले भने ।
उनका अनुसार बल्लतल्ल फोहर लगेको ट्रयाक्टर तथा टिप्पर डम्पिङ साइडमा पुगिहाले पनि त्यही ट्रयाक्टर र टिप्पर फर्काएर ल्याउन नसकिने अवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराए । हामीले नगरबासीको समस्या नबुझेका होइनौ तर जानै नसक्ने अवस्था भएका कारण फोहर नउठाइएइको मात्र हो श्रेष्ठले भने ।
भदौ महिनामा झण्डै २५ दिन फोहोर उठ्न नसकेको क्लिन गोरखाले नगरपालिका भित्र गएको १ साता यतादेखि उठ्न सुरु भएपनि फेरी रोकिएको छ ।
डम्पिङ साईडमा पुग्ने सडक मध्ये अन्तिमको ६० मिटर सडक कच्ची रातोमाटोका भएका कारण पानी पर्नासाथ समस्या आउने गरेको हो । नगरपालिकाले सडक मर्मत नगरेसम्म फोहोर उठाउन सक्ने अबस्था नरहेको पनि उनले जानकारी दिए ।
क्लिन गोरखाले फोहोर शुल्क बापत मासिक ५ लाख ५० हजार उठ्ने तर अहिलेका अवस्थामा मासिक ५ लख ७५ हजार खर्च हुदै आएको पनि जानकारी दिए ।
उपभोत्ताहरुले फोहर उठाएको पैसा नदिएका कारण फोहर नउठाएको हो ? प्रश्नमा सञ्चालक श्रेष्ठले ‘निजी संस्था हो । नाफा खोज्नु स्वभाविक हो । तर अहिले हामीले नाफा भन्दा पनि बाटोकै समस्याका कारण फोहर उठाउन समस्या भई रहेको बताए ।
नगर क्षेत्रबाट फोहर उठाएर ब्यवस्थान गर्ने बारे नगरपालिका संग पठक पटक संवाद भएको भन्दै बैकल्पिक डम्पिङ साईडको ब्यवस्था भएको खण्डमा पनि तत्कालै फोहर उठाउन आफुहरु तयार रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
नगरपालिकासंग कम्पनीले ०७८ असोज ६ गते सम्झौता गरेर कात्र्तिक १५ गतेदेखी काम सुरु गरेको थियो । त्यस बखत प्रति लिटर डिजल ९८ रुपैयाँ थियो भने अहिले झण्डै दोब्बर भन्दा पनि बढी भएको छ । यसले गर्दा पनि क्लिन गोरखालाई बजार क्षेत्रबाट फोहर उठाउन समस्या भएको छ । श्रेष्ठले पत्रकार सम्मेलनमा भने, अब नगरपालिकाले पेट्रोलियम पर्दाथमा केही अनुदानको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो भनाई छ ।’
कम्पनीलाई फोहर ब्यवस्थापन गरेबापत यातायात व्यवसायीहरुले तिर्नुपर्ने शुल्क तिर्न अटेरी गरेको भन्दै शुल्क उठाउने बिषयमा नगरपालिकाले पनि भूमिका खेल्दिनु पर्ने क्लिन गोरखाको धारणा रहेको छ ।
क्लिन गोरखाले अहिले सेवाग्राहीहरुसंग न्युनतम १०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म शुल्क उठाउदै आएको छ ।
कम्पनीले फोहोरलाई मोहरमा बदल्ने योजना सहित काम सुरु गरेको भएपनि अहिलेसम्म प्रशोधन लगायतका काम गर्न नसक्दा नाफामा जान नसकेको सञ्चालक श्रेष्ठले बताए । ‘फोहोरलाई मोहरमा बदल्ने भन्ने योजना त हो, सञ्चालक श्रेष्ठले भन्नुभयो, ‘तर सकिएको छैन, सेनेटरी प्याड बनाउने, प्लास्टिकको टुक्रा उत्पादन गर्ने भनेर मेसिन खरिदकाे प्रकृयामा छौ तर काम सुरु गर्न सकेको छैन ।’
क्लिन गोरखाले अहिले २० जना कर्मचारी राखेर गोरखा नगरपालिका वडा नम्बर १, २, ३ र १४ बाहेकका वडाहरुबाट नियमित रुपमा फोहोर संकलन गरी रहेको छ ।



