गोरखा । आसन्न संसदिय र प्रदेश निर्वाचनको लागि गोरखामा भएका साविक मतदान स्थल मध्ये १७ मतदान स्थल परिवर्तन गरिएको छ भने ७ स्थानमा नयाँ थप गरिएको छ ।
मतदान स्थल तथा मतदान केन्द्रको सिफारिस समितिले गरेको सिफारिसको आधारमा मतदान केन्द्र हेरफेर र थप गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबिलाल सुवेदीले जानकारी दिए ।
जिल्लामा नयाँ ७ मतदान स्थल थप भएसंगै कुल मतदान स्थलको संख्या २२२ पुगेको कार्यालयले जनाएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनसम्म जिल्लामा २१५ मतदान स्थल कायम गरिएको थियो ।
थपिएका मतदान स्थलमा चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को फिलिम स्थित आधारभूत बिधालय पाती, सिदुङ स्थित आधारभूत बिधालय सरस्युङमा नयाँ मतदान स्थल कायम गरिएको छ । धार्चे गाउँपालिका ३ दुङलामा रहेको आधारभूत बिधालय, वडा नम्बर ७ स्थित गोरखनाथ आधारभूत बिधालय खानीगाँउमा नया मतदान स्थल राखिएको छ ।
शहीद लखन गाउँपालिका २ बनौती स्थित आधारभूत बिधालय डाँडागाउँ, २ कै बक्रेश्वरी आधारभूत बिधालय तिउरेभञ्ज्याङमा पनि नयाँ मतदान केन्द्र स्थापना गरिएको छ ।
त्यस्तै गरी, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ स्तुल स्थित आधारभूत बिधालय स्तुलमा पनि नयाँ मतदान स्थल कायम गरिएको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका मतदान स्थल मध्ये १७ मतदान स्थल नयाँ ठाउँमा स्थानान्तरण भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ को कार्यालयमा रहेको मतदानस्थललाई नयाँ बजार सिटीहलमा सारिएको छ ।
वडा नम्बर १४ मा रहेका महालक्ष्मी आधारभूत बिधालय छाकु मतदानस्थललाई कन्यादेवी आधारभूत बिधालय गोप्लिङ सारिएको छ ।
त्यस्तै चुमनुब्री गाऊँपालिकाका वडा नम्वर २ स्थित ल्हो आधारभूत विद्यालय मतदान स्थललाई सामुदायिक भवन ल्होमा, वडा नम्बर ४ को नामरुङ गुम्बा मतदान स्थललाई स्वास्थ्य चौकी लार्केवजारमा, क्वाक गुम्बा क्वाक मतदान केन्द्रलाई क्वाक आधारभूत विद्यालय, वडा नम्वर ६ को चुम्लिङ गुम्बा मतदान स्थललाई चुमलिङ आधारभूत विद्यालयमा र वडा नम्वर ७ को छुले गुम्बा मतदानस्थललाई छुलेनिले आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ ।
चुमनुब्री वडा नम्वर ७ को राजेन गुम्बा मतदानस्थलाई बुद्ध आधारभूत विद्यालय लारमा, धार्चे गाऊँपालिका वडा नम्वर २ को गाविस भवन केरौंजा मतदानस्थललाई वडा कार्यालय क्युटेन, वडा नम्वर ४ को मणिकामदेवी मावि मतदानस्थललाई पुरानोगाऊँ फ्याप्चेतमा, वडा नम्वर ५ को जनसेवा आधारभूत विद्यालय यमगाऊँ मतदान स्थललाई अमरनाथ आधारभूत विद्यालय लप्सीबोटमा, वडा नम्बर ५ को गाविस भवन गुम्दा मतदान स्थललाई सूर्योदय मावि गुङ्गारचेतमा, वडा नम्बर ३ को पार्वती मा।वि र उहीयाथान खोलालाई पार्वती आवि उहीया गाउँमा स्थानान्तरण गरिएको हो ।
भीमसेन थापा गाऊँपालिका २ स्थित गाविस भवन ताराखसे मतदान स्थललाई सिद्धकाली माविमा, गण्डकी गाऊँपालिका १ को विजया भवानी मावि मतदान स्थललाई वडा कार्यालय मकैसिंङ, आरुघाट गाऊँपालिका वडा नम्वर ७ को ज्ञानभूमी आधारभूत विद्यालय मुलमुले मतदानस्थल वडा कार्यालय कुँडुले र आरुघाट नम्वर १० को सिद्धदेवी मावि डाँडागाऊँ मतदानस्थललाई वडा कार्यालय फूलपाती भञ्ज्याङमा स्थानान्तरण भएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
गत साउन १२ गते बसेको प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सिफारिस समितिले मतदान स्थल थप र स्थानान्तरणका लागी सिफारिस गरे अनुसार नै निर्वाचन आयोगले स्थानान्तरण नयाँ मतदान केन्द्र कायम गरिदिएको हो ।



