गोरखा । पछिल्लो केही साता यता गोरखामा डेंगुको संक्रमण दर उच्च देखिए संगै ‘खोजौ र नष्ट गरौ’ अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय गोरखाले अनुरोध गरेको छ ।
जिल्लाको पछिल्लो विवरण अनुसार ५ स्थानिय तहमा मात्रै ५८ जनामा संक्रमण देखिएको छ । डेंगुका बिरामी गोरखा नगरपालिकामा सर्वाधिक देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गोरखा नगरपालिकामा ४१ जना डेंगुका बिरामी देखा परेका छन् । गोरखा नगरपालिका पछि आरुघाट गाउँपालिका दोस्रो स्थानमा रहेको छ, जहाँ ११ जना डेंगुका बिरामी फेला परेको कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार पालुङटार नगरपालिकामा ४ जना र भीमसेन थापा र गण्डकी गाउँपालिकामा १–१ जना बिरामी फेला परेका छन् । ‘यो त सरकारी रेकर्ड मात्र हो । निजी अस्पतालले परिक्षण गराएर संक्रमण देखिएको रेकर्ड प्राप्त हुन सकेको छैन’ फोकल पर्सन अर्यालले बताए ।

पछिल्लो समय देशैभर डेंगुको संक्रमण देखिए पछि कतिले परिक्षण गराए भन्ने कुरा कार्यालयमा रेकर्ड छैन । तर कार्यालयले आजै सूचना जारी गर्दै ‘स्वास्थ्य संस्थाहरु संचालन रहेका सरकारी अस्पताल/प्रा.स्वा.केन्द्र, प्राईभेट अस्पताल/पोलिक्लिनिक तथा मेडिकलहलहरुमा समेत जाँच भएका बिरामीहरुको विवरण अनिवार्य दैनिक रुपमा रिपोर्टिङ गर्न’ अनुरोध गरेको छ ।

गोरखा नगरपालिकाको साता ब्यापी कार्यक्रम सार्वजनिक
यता जिल्ला सदरमुकाममा संक्रमण दर उच्च देखिएको भन्दै गोरखा नगरपालिकाले सबैलाई ‘खोजौ र नष्ट गरौ’ अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख ईश्वर ढकालले जानकारी दिए ।

पालिकाको स्वास्थ्य शाखाले आजै एक सूचना जारी गर्दै पालिका भित्र रहेको सबै साुमदायिक, संस्थागत र परम्परागत बिद्यालय, सरकारी स्वास्थ्य चौकी तथा निजी स्वास्थ्य संस्थाहरु, वडा कार्यालय, टोल बिकास संस्था निर्देशन जारी गर्दै लामखुट्टले फुल पार्न सक्ने सम्भावित स्थानहरुको सरसफाईमा विशेष ध्यान दिई लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ साप्ताहिक अभियान सञ्चालन गर्न भनेको छ ।
शाखाले जारी गरेको सूचनामा यही भाद्र ३१ गतेदेखी असोज ६ गतेसम्म १० बजेबाट अभियानको थालनी गर्न भनेको छ ।

गाेरखा जिल्लामा डेंगुकाे पछिल्लाे बिवरण
नगरपालिकाले आज जारी गरेको सूचनामा ‘गोरखा नगरपालिका क्षेत्रभित्र डेंगु रोग देखा परिरहेको र देशै भर डेंगुको प्रकोप बढिरहेको सन्दर्भमा डेंगु रोग नियन्त्रण तथा रोकथामको लािग उपयुक्त विधि भनेको ‘रोज र नष्ट गर’ भन्ने अभियानका लागि लामखुट्टेको बृद्वि तथा बिकास सफा र स्थिर पानीमा हुने भएकाले आफ्नो घर, बिद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थानहरुको सरसफाईमा विशेष ध्यान दिन’ भनेको छ ।


