गोरखा । चाढ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले सहुलियत दरमा चामल बिक्री गर्ने भएको छ । कार्यालयले असोज १ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले दशैँ ,तिहार र छठ पर्वलाई लक्षित गरि सहुलियत मूल्य पसल सञ्चालन गरी चामलमा प्रति किलो ७ रुपैयाँ सस्तोमा बिक्री गर्न लागेको हो ।
कार्यालयका सूचना अधिकारी शिव सुनारका अनुसार शाखामा उपलब्ध रहेको सबै चामलमा प्रति केजी ७ रुपैयाँ घटाएर बिक्री गर्न लागिएको हो । शाखामा अहिले सोना मन्सुली र स्टिम जिरा चामल रहेको जानकारी दिदै सूचना अधिकारी सुनारले सोना मंसुली चालम प्रति केजी ४५ र स्टिम जिरा मसिनो ६० रुपैयाँ पर्ने जानकारी दिए ।
हाल शाखाले सोना मंसुलीचामल प्रतिकिलो ५२ र स्टिम जिरा मसिनो चामल प्रति किलो ६७ मा बिक्री गर्दै आएको छ ।
कार्यालयमा सोना मंसुली चामल ३० केजि र स्टिम जिरा मसिनो चामल २५ किलोको बोरामा उपलब्ध रहेको पनि सूचना अधिकारी सुनारले जानकारी दिए ।
नयाँ मुल्य अनुसार अब सोना मंसुली चामल प्रतिबोरा १ हजार ३५० रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रति बोरा १ हजार ५००सय पर्नेछ ।
शाखा कार्यालय गोरखामा सोना मंसुली चामल २६१ क्विन्टल र स्टिम जिरा मसिनो चामल १०० क्विन्टल मौज्दात रहेको कार्यालयले जनाएको छ ।
कम्पनीले प्रति व्यक्ति १ बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ । हिन्दु नेपालीहरुको ठुलो चाड वडा दशैलाई लक्षित गरेर प्रति ब्यक्ति १ बोराको दरले मात्र खाद्यान्न बिक्रि गर्न लागेको कम्पनीको नि.प्रमुख मुनिलाल कुश्वाहाको बताए । उनका अनुसार कम्पनीको नयाँ ढुवानी ठेक्का स्विकृत भईसकेको भएपनि मौदातको अवस्थालाई हेरी १ बोराको दरले मात्र खाद्यान्न विक्री गर्न लागेको हो ।
सहुलियत मुल्यको पसल असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म शाखाबाट बिक्री हुनेछ । कम्पनीले यस अघिका वर्षमा पनि सहुलियत मूल्यको पसल सञ्चालन गर्दै आएको थियो ।


