तिलक पाैडेल
श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा गरिने भएकोले यसलाई नागपञ्चमी पनि भनिन्छ । नाग भनेको रेप्टाइल्स वर्गको घिस्रेर हिड्ने लामो किरा हो । लामो किरा भएकोले यसलाई लाम्किरा, सर्प, साँपका नामले पनि चिनिन्छ । ठण्डी मौसमका शरद, हेमन्त र शिशिर ऋतुमा सुषुप्त आवस्था (हाइवरनेशन) मा जमीन मुनि दुलोमा बिताउने यो किरो गर्मी मौसमका वसन्त, गृष्म र वर्षा ऋतुमा सक्रिय अवस्थामा जमीनमा घुम्ने गर्दछ । प्राय: तराईतिर पाइने सर्पहरू बढी विषालु हुन्छन् भने हिमाल, पहाडतिर पाइने सर्पहरू त्यति विषालु हुँदैनन् । र पनि सर्प देख्दा
अधिकांश व्यक्तिहरू डराउने गर्दछन् । साविकमा यिनीहरूलाई भगवानको रूपमा पूजन गरिने हुनाले मार्नु हुँदैन, पाप लाग्छ भन्ने मान्यता रहेको थियो । यिनले आफू रहेको ठाउँमा आगलागी, वर्षाद्, चट्याङ् पर्न नदिने हुनाले जीवनरक्षामा पनि सहयोग गर्ने जनविश्वास अद्यापि रहिआएकोछ । मुसा, भ्यागुताहरू खाइदिने हुनाले अन्नबालीको रक्षा पनि हुने नै भयो । हुनपनि यिनीहरूले वातावरणीय सन्तुलनको स्वभूमिकाको अलावा प्रदूषित तत्त्वहरू ग्रहण गर्ने भएकोले पर्यावरणीय स्वच्छता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जीव भनी विज्ञानले पनि प्रमाणित गरिसकेको पाइन्छ ।
हरेक वर्षको यो दिन हामी केटाकेटी हुँदा रमाइलो पर्वको रूपमा लिइन्थ्यो । नागपञ्चमीको बिहान बुबाले प्रभातकालीन नित्यकर्महरू सकाएपछि नागको थान सफा गर्नुहुन्थ्यो । हरियो मकै खान हुने भएपछि नाग-नागिनी र भँयरलाई भनी तीन्टा मकैका जरैसितका बुटा ल्याएर नागको थानमा नचह्राउँदै खायो भने नाग देउताले सराप दिने मान्यता थियो । रोपाईँ सुरु हुँदाका दिन पनि रोपो लगेर नागको थानमा राखिन्थ्यो । त्यसदिन ठूला-ठूला रुखै झैँ लाग्ने फुलेका तीतेपाती, ठूल्ठूला सलहझारलाई बाउसाको सहायताले उक्काएर र अरु रोल (सिरु, खर, झारहरू) आँसीले काटेर उघारो बनाउनु हुन्थ्यो । यता आँगनमा आमाहरूले काहुरो (काभ्रो) का पातहरूका लाम्चिला दुनाहरू पानीडोकाभरि जस्तो बनाउनु हुन्थ्यो । हामी साना केटाकेटीहरू फूलपाती, दुबो जम्मा गर्नमा रमाएका हुन्थ्यौँ । आमाले चामलको पीठो रयालेर ताइमा छर्केर मसाने चेपा रोटि ससाना बाबर तयार पार्नुहुन्थ्यो भने धान भुटेर लाभा (धानका फुला) बनाउनु हुन्थ्यो । बुबाले चालमको पीठो मुछेर तीनवटा र प्युरी (कपास)का तीनवटा नागाकृति बनाउनु हुन्थ्यो । ती नागहरूमा मासका गेडाले आँखा, तीलले कत्ला, कुशको जिब्रो बनाएको हामीले टकलाएर हेर्दथ्यौँ । दाजीले पनि नुहाई सफा धोती फेरेर खै सबै समान तयार भएन, अझै ! भन्दै दुनाको डोको र गाईको गोबर (गोमय) लिएर थानतिर लाग्नु हुन्थ्यो ।
आमाले पञ्चपालामा सिँदुर, केशरी, जौ, तिल तयार पार्नुभएकोलाई एकहातमा र अर्को हातमा बाबर, ताम्बुल (मुलतस् अलैँची, सुपारी), लाभा, नाग, फूलपातीका टपरी लगायत आवश्यक सामग्री राखिएको डाली अर्को हातमा लिएर बुबा पनि थान तिर लाग्नु हुन्थ्यो । नागको पूजामा अबीर र गुलियो वस्तुको प्रयोग वर्जित मानिन्थ्यो । आमा पनि थोत्रो फलाएँ भदालोमा फिलिङ्गासहितको आगो पुत्ताउँदै बुबाको पछि लाग्नुहुन्थ्यो । त्यसपछि हाम्रोपालो हुन्थ्यो पछि लाग्ने । त्यतिञ्जेल बुबाले सफा गरेको थानलाई दाइले गोबरले लिपपोत गरिसकेको हुनुहुन्थ्यो ।
बुबाले तामाको हत्तरीको जल हातमा लिई अपवित्रो पवित्रोवा… भन्दै थानभित्र पस्नुहुन्थ्यो । वरिपरि बान्नु लगाएको र बीचमा लाम्चो आकारको ढुङ्गा रहेको नागको थानमा दुईजना बसेर पूजा गर्न मिल्ने ठाउँ छ । दाइ गएर केराको ठूलो र नच्यातिएको एउटा पात ल्याउनु भयो । पानीले पखालेर बुबालाई दिनुभयो । बुबाले त्यही लाम्चो ढुङ्गासँग समानान्तर हुने गरी राख्दै खै गाईको गोबर ल्याऊ त ! पुगेन … भन्नु भयो । वहाँले लाम्चो ढुङ्गामाथि तीनवटा गोबरका खोपिल्टा बनाउँदै हुनुहुन्थ्यो । तीनै गोबरका मुनि केराको पातमाथि अघि बनाएका कपास र पीठाका नागलाई जतनसँत सजीव ढङ्गले राख्नुभयो र त्यसैको छेउमा अष्टनाग, चन्द्र-सूर्य, नागकन्या, खजुरो, बिच्छी, भ्यागुतो, माकुरो, गँगटो, माछो आदिको चित्र बनाएकोकापीका पाना राख्नुभयो । मामली हजुरबुबाले यस्ता चित्रहरू सारै राम्रो बनाउनुहुन्थ्यो र वहाँले नातीले पनि सिक्नुपर्छ भनेकाले मैले पनि अलि-अलि बनाउने गर्दथेँ । पछि अलि ठूलो भएपछि जानकारी भयो नौथोप्लाबाट बनाएका नागका चित्रहरू राम्रा हुँदारहेछन् । बनाउन त डवल ब्राकेटबाट, त्रियाननब्बेबाट, सिङ्गल ब्राकेटका बीचमा ड लेखेर पनि बनाउन सकिँदो रहेछ। बुबालेढुङ्गाको शिरतिर छाडिएको पातीको गाँजको मूल हाँगामा पनि रुई लड्काइदिनुभयो । त्यसैको मुनि एउटा टपरीभरि धान, त्यसमाथि अर्को टपरीमा चामल र त्यसमा तेल र ज्योतिसहितको तामेदियो राख्नुभयो । त्यसैको छेउमा तामे अङ्खरीमा जल भरेर राखी दाइसँग दियासलाई मागेर ज्योति बाली पूजा आरम्भ गर्नुभयो । बुबाले आवश्यक सामान दाइसँग र दाइले थानमा ल्याउन छुट भएका सामान घरबाट ल्याउन हामीलाई अह्राउनु हुन्थ्यो । मगाएको चीज घर गई आमासँग मागेर आफूले ल्याउन हामी भाइबैनीबीच तँछाडमँछाड हुन्थ्यो – कति रमाइलो लाग्दथ्यो त्यो क्षण !
घरमा भान्सा तयार पारी आमा पनि टपरीमा पाकेको आँप काटेर टुक्रा पारी लौ यो पनि नैवेद राखु भनी दाइलाई दिँदै पूजा गरेको हेर्न थानतिर आउनु हुन्थ्यो । बुबाले लौ परमेश्वर श्रीङ्गानाग देउता हाम्रो पूजा विधिमा हुनेरभएको कमीप्रति क्षमा देऊ, हाम्रो रक्षा कल्याण गर, आँटेताकेको पुर्याइदेऊ, रोग-व्याधि दूर गरिदेऊ, पीर-कष्ट हरण गरिदेऊ …भन्दै दियो कलस, गणेशकोपूजा सकाएर भदालोको कोइला छेउमा खन्याएर धुप हाल्नु हुन्थ्यो । खै केको हो ? साल्धूप भन्नुहुन्थ्यो, सारै मीठो सुवासना फैलिन्थ्यो वरिपरि ।
त्यसपछि बुबाले पञ्चपालाबाट सिँदूर, केसरी, जौ, तिल आदिले नागहरूलाई सिँगार्नु हुँदा साँच्चैका नाग जस्ता सजीव हुन्थे । गोबरका खोपिल्टामा गाईको दूध भरिदिनु भएपचि दाइसँग अब नाग-नागिनीलाई आठवटा र नागका बच्चालाई एउटा गरी नौवटा दुनामा हातपाउ धुन जल तयार पारु भन्नु भए अनुसार दाइले करूवाबाट दुनाहरूमा पानी राख्दै दिँदै गर्नुहुन्थ्यो । बुबाले के-के गुनगुगाउँदै क्रमशस् मिलाएर राख्दै जानुहुन्थ्यो । एवम् रीतले त्यति नै दुनामा गाईको दूध, अर्घ, बाबर रोटी, खिर, लाभा, पिउनेपानीका दुनाहरू राख्दै जाँदा केराको पात ढाकेर भूईँमा पनि राख्दै जानुहुन्थ्यो । लौ अब नाग-नागिनी र बच्चालाई चुठ्ने पानी लेऊ, डाकियो, भोजन गराइयो, अब चुठाउनु पर्यो अनि पानसुपारी टक्र्याउँलाु भने बमोजिम दाइले सबै चीजबीज तयार पारी बुबालाई दिनुहुन्थ्यो । यता पानीडोकाका दुनाहरू पनि सकिँदै जान्थे । जम्मा दुना एकसय आठभन्दा कम हुन हुन्न भन्नुहुन्थ्यो । अलैँची फोरेर बीउहरूलाई ताम्बुलको रूप दिई बाँकी रहेका दुनाहरूमा शुद्ध जल राखी थानमा राख्दा सबै दुनाले ढपक्कै ढाक्दथ्यो । शायद यसै प्रयोजनलाई मध्यनजर गरी थानको आकार निर्धारण गरिएको होला ।
यसरी नाग-नागिनी र बच्चा नागकोपूजा गरिसकेपछि गाईको दूधमा पकाएको खिर कोइलामा हवन गर्नु हुन्थ्यो । मन-मन के-के जप्दै डबके कचौराभरिको खिर हवनमा सक्नुहुन्थ्यो । नाग नचह्राई खान हुँदैन भनेकाले भोको पेटमा त्यो खिर हुमेको देख्दा मुखभरि पानी रसाएर आउँथ्यो – केटाकेटी मन न भयो ! हवन कार्य सकिएपछि दुनामा जल अचाई दाइसमेतले फूलपाती लिएर नागपूजा समापन हुन्थ्यो । बुबाले सिमेभूमे देवगणकी, श्रीङ्गा नागदेउताकी भनेर फलाक्नु हुन्थ्यो, हामी सबैले जय-जय भन्दथ्यौँ ।
अब टीका लगाउने र नैवेद खाने कार्य हुन्थ्यो । बुबाले भने कापीका पानामा लेखेको नागको चित्रलाई घरको मूल ढोकामा लगी गाईको गोबरका साना थुप्रामा टाँसी दुबो, कपासका नाग पनि झुण्ड्याएर लौ नागदेउता रक्षा गर, कतै केही कमी भएको भए जानेर हैन म अनजानलाई क्षमा दिनुहोलाु भन्दै नागपूजाको समापन गर्नुहुन्थ्यो । आमाले तयार पारेको मीठो खाना सबैले खाई त्यसदिन प्रायस् स्कुलमा स्थानीय बिदा हुने भएकाले साथीभाइहरू जम्मा भई रमाइलोसँग दिन बिताइन्थ्यो ।
यो व्यहोरा गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको आँधीखोला २, चिलाउनेवास, झारखोलाको प्रचलनमा आधारित हो । नागपूजाका आ-आफ्नै विधि र तरिकाहरू भएपनि सारांशमा उही कविशिरोमणीले बुद्धिविनोदमा लेखे झैँ -प्रजा धरामा, धरणी फणिसमा । फणिस पानी, बीच पानी हो कहाँ ?
मिलेन विश्रान्ति, जवाव हो कुन ? तँलाई मालुम, छ कि यो कुरा मन ?? धरतीलाई आफ्नो फणमा उचाल्ने शेषनागका विविध रूपहरूको पूजा हो – नागपञ्चमी । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, सङ्ख्य गरी आठ प्रकारका नागहरूलाई अष्टनागका रूपमा गृहप्रवेशद्वार, मुल ढोकामा टाँसेर परिआउने पीर, वाधाहरूबाट रक्षा गरिदिन नागदेवलाई पूजा गरिने पर्व नागपञ्चमी हो । उल्लिखित बमोजिम गरिने पूजा अचेल रङ्गीन छपाइका विविध प्रकारका नागका चित्रहरू कथित पुरोहितहरूबाट टाँसाएर मनाउने रूपमा परिणत भैसकेकोछ । कमसेकम यही रूपमा भएपनि मनाउँदै गरौँ, परम्परागत साँस्कृतिक धरोहर धानी राखौँ ।
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
२०७९ साउन १७ गते मगलबार
आँधीखोला २, चिलाउनेवास, स्याङ्जा ।
हाल : कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।




