रामशरण आचार्य
तीनसय बर्षअघि टुक्रिएर, छरिएर रहेका बाइसी, चौबीसी राज्यलाई गोरखाको नेतृत्व तथा पृथ्वीनारायण शाहको नायकतत्वमा एउटै विशाल राष्ट्र नेपाल निर्माण भएको यथार्थ इतिहास साक्षि छ । अलग अलग राज्यहरुमा विभक्त नेपालीलाई एकतामा बाँधेर एकल राज्य निर्माण गर्ने अभियानमा तत्कालिन गोरखा राज्यका वीर–वीरङ्गनाहरुले खेलेको ऐतिहासिक भूमिका तथा बगाएको रगत पसिनाले तत्कालिन समयमा देशलाई विश्वकै साम्राज्यबादको अधीन हुनबाट रोकेर पुर्खालाई सुम्पिएको हाम्रो मातृभूमि नेपाल आज विश्व मानचित्रमा एक सिङ्गो स्वतन्त्र राष्ट्रको रुपमा सुपरिचित रहेको कुरा विश्वको इतिहासमा समेत स्वर्णिम अक्षरले कोरिएको छ ।
विविध भाषा, जाति, संस्कृतिको कारण विभाजित एवं विभक्त नेपाल र नेपालीलाई एकताको सुत्रमा बाँध्ने कार्य गरेर एक नेपाल राष्ट्र र एक मात्र जाति नेपालीको पहिचान दिलाउने नेपाल एकिकरण अभियानका नायक अर्थात् राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाह नेपाल आमाका होनहार सपूतहरुको सूचीमा अग्रपंक्तिमा एक युगपुरुषको रुपमा सूचिकृत भई अमरत्व प्राप्त गर्न मात्र नभई आधुनिक विश्वमा गोरखा नामलाई नेपाल भन्दा धेरै परिचित गराउन सफल भएको कुरा हाम्रो माझ छर्लङ्ग छ भन्दा कुनै अतिशयोक्ति नहोला ।
गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहका सन्तान नरभूपाल शाहका माहिली रानी कौशल्यावतीका गर्भबाट १७७९ साल पुस २७ गते जेष्ठ सुपुत्रका रुपमा पृथ्वीनारायण शाहको जन्म गोरखा जस्तो सानो राजकुलमा भएको थियो ।
देवी दुर्गा भवानी गोरखाकालीकाको शक्ति तथा बालगुरु गोरखनाथको आशिर्वाद प्राप्त गरी आधुनिक नेपालको निर्माण कार्यमा कुशलताका साथ सरिक भई विशाल नेपालको द्रष्टाका रुपमा सुविख्यात पृथ्वीनारायण शाहले विश्वको इतिहासमा नेपाल राज्य स्थापित गरी आफ्नो गौरवमय स्वर्णिम इतिहास कोर्न सफल भएका छन् ।
तीक्ष्ण सोंचाई र विशाल हृदयका धनी पृथ्वीनारायण शाह एक कुशल राजनीतिज्ञ, सेनानायक, दूरदर्शी, बहादुर, कुटनीतिज्ञ मात्रै नभएर प्रत्येक नेपालीको भावना एवं विचारको कदर गर्न सक्ने उच्चकोटीका प्रजातान्त्रिक राजनेता समेत थिए भन्दा सायद हामि नेपाली कसैलाई अपाच्य नहोला । उनले समाजका तत्कालिन समयमा राजकूलका दृष्टि–निम्न जात र स्तरका व्यक्ति बिसे नगर्जीको भावना एवं विचारसँग कुशलताका साथ आफूलाई परिमार्जित गरेर एक सिङ्गो नेपाल निर्माणको कल्पनालाई सार्थकता दिलाएका थिए । यद्यपि नेपाल एकीकरण जस्तो कठिन यात्रा र महान् यज्ञमा सरिक पृथ्वीनारायण शाहलाई आफ्नो लक्ष्य प्राप्तिमा एकमात्र सरल मार्ग निर्देशक बिसे नगर्जीको विचार र भावनाले पु¥याएको अतुलनीय सहयोगबाट पनि प्रष्ट हुन्छ कि पृथ्वीनारायण शाह भित्र सम्पूर्ण नेपालीको साझा भावना एवं ढुकढुकी गाँसिएको थियो ।
‘दुनिया जसदेखि राजी रहन्छन्, उसैलाई कजाइँ दिनू’ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहका महान् वाणीहरु र दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक भएकोले यस अनुरुप चलेमा नेपालको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नमा थप बल पुग्नेछ । महान् विचार र विराट व्यक्तित्वको सजिलै आंकलन गर्नका लागि उनका महान् वाणीहरु ‘यो राज्य दुई ढुङ्गा बीचको तरुल जस्तो छ ।’, ‘शासकको ठूलो निया निसाफ अन्याय मुलुकमा हुन नदिनू’, ‘घुस लिन्या र दिन्या देशका ठूला शत्रु हुन् ।’ आदि महान् दिव्योपदेश मर्मस्पर्शी र जनभावनाको कदर तथा नेपालको वास्तविक भौगोलिक स्थिति एवं प्राकृतिक भू—बनौट र छिमेकी राष्ट्रहरुसँगको भूपरिवेशको सचित्र वर्णन गर्न सफल बनेको छ ।
त्यस्तै ‘नेपाल चार जात छत्तीस वर्णको फूलवारी हो’ उनका यी महान् वाणीले हिमालदेखि तराई सम्मका विभिन्न भावना भएका विविध भाषाभाषी, जातजाति, धर्म, संस्कृति र सम्प्रदायमा विभाजित मनस्थितिलाई एउटै सिङ्गो ‘नेपाली’ शब्दभित्र अटाएको छ । जसको परिणाम स्वरुप नेपाल राज्यभित्र कहिल्यै पनि जातीय युद्ध, धार्मिक विद्रोह जस्ता असामाजिक गतिविधिले प्रोत्साहन पाएन ।
नेपालको एकीकरण भौगोलिक रुपले मात्रै पूर्ण नहुने देखि कुशल नेतृत्वका धनी अदुरदर्शि नेता ऐतिहासिक युगपुरुष पृथ्वीनारायण शाहले सम्पूर्ण नेपालीहरुको भावनात्मक एकतामा जोड दिई राष्ट्रिय एकतालाई मूर्तरुप दिंदै सम्पूर्ण नेपाल र नेपालीलाई राष्ट्र र राष्ट्रियताको एउटै गोरेटोमा डो¥याउन अग्रगामी भूमिका निर्वाह गरेका थिए । एकीकरणका क्रममा जहाँ जे धर्म, जाति र भाषा एवं रहनसहन छ त्यसैलाई उच्च आदरभाव गर्दै कसैलाई काखा र पाखाको नीति अवलम्बन गरेनन् सबैलाई मिलाएर नेपाली जातिको संज्ञा दिए । यिनैले नेपाली भाषाको आवश्यकता बोध गराई भाषिक एकीकरण एवं भाषिका एकताको सुत्रपात गराए ।
पृथ्वीनारायण शाहले कहिल्यै पनि आफ्नो विचार र भावना जनतामाथि लादेनन्, जनभावनाको कदर गरी राजधानीलाई गोरखाबाट काठमाण्डौंमा सारी त्यहाँका जनताको मन जिते, जनतालाई दास बनाएनन् यो उनको महान्ता थियो र उनले तत्कालीन समयमा दयनीय अवस्थामा रहेको नेपाल र नेपालीलाई भौगोलिक र भावनात्मक रुपमा एकताको सूत्रमा आबद्ध गरी कहिल्यै तिर्न नसक्ने गुन लगाएर गएका छन् ।
पृथ्वीनारायण र उनका योगदान र विचारलाई कतै हामीले इतिहासको पानामा मात्र सीमित पार्ने दुस्साहस गरेका त छैनौं । ती युगपुरुष जसलाई वर्तमान राजनीतिक वातावरणले नस्विकार्न सक्छ तर इतिहास मेटिदैन भन्ने कुरा पनि ज्वलन्त छ भन्ने कुरा सायद वर्तमान स्वघोषित राजनेताहरु जो जनताको नाउँमा जनतालाई रैति भन्दा पनि तल राखेर मुलुकको सर्वेसर्वा आफै ठान्छन् के तिनीहरुलाई भविष्यको इतिहासमा कुनै स्थान मिल्न सक्ला ?
उनले राष्ट्र निर्माणमा गरेको योगदान, लगानी, कुर्वानी, तथा एकताको भावनालाई उपेक्षा गरिएको छ तापनि बाहिर अस्वाभाबिक स्वाङ्ग पार्न भने छाडिएको छैन, पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर महत्वपूर्ण कार्य गरे, नेपाललाई विश्व सामु परिचित गराए, उनको योगदानलाई भुल्न हुन्न, उनको नेतृत्व प्रदान गर्ने शैली र पथको अनुसरण गर्नुपर्छ, अन्य राजा महाराजाको स्थान भन्दा पृथ्वीको स्थान अलग छ, उनलाई बिर्सन हुन्न आदि–आदि नव आगन्तुक जननेता भन्न रुचाउनेहरुको मुखराबिन्दु बाट समय समयमा सुन्न पाइन्छ । त्यस्तै हिजो आजको राजनीतिक परिवेशमा उनलाई सामन्तीको नाइकेको संज्ञा पनि दिइने गरेको पाइन्छ । यदि पृथ्वीनारायण शाह सामन्ती थिए भने के उनले टुक्रे–टुक्रिे विविध गणराज्यहरुलाई एकत्रित गरेको कार्य के गलत थियो ? के उनले एकल नेपाल बनाउन खेलेको भूमिका गलत थियो ? अर्थात् करिब २९० बर्ष अघि गरिएको नेपाल एकिकरण कार्य गलत थियो ?
गलत मात्र यो थियो, तत्कालिन १२ हजार गोरखालीको साथ लिएर नेपाल एकिकरण अभियान सफल बनाउने कार्यदलका नेता एवं नायक पृथ्वीले आम गोरखालीहरुकै भविष्यप्रति अनुदार हुने गरी गोरखा राज्यले एकिकरण अभियान सफल पार्ने तर राज्यको नाम नेपाल राख्ने र गोरखामा रहेको नेपालको राजधानीलाई काठमाण्डौंमा स्थानान्तरण गरेको घटना । जुन घटनाको कारण २९० बर्षअघि देखि आजसम्म निरन्तर आधुनिक विश्व मानचित्रमा नेपाल भन्दा धेरै परिचित गोरखा नेपालको अन्य स्थानभन्दा विकासको चरण र गतिमा हिजो पनि निकै पछाडि पर्न गयो र आज पनि पछाडि परिरहेछ, भनेर गोरखाली जनताले गोरखा राज्यबाट नाम परिर्वतन गरेर नेपाल राज्य नाम दिई गोरखामा रहेको राजधानी समेतलाई काठमाण्डौंमा सार्ने राजा पृथ्वीलाई आरोप लगाउन मिल्छ । किनकी उनको जन्मभूमि र कर्मभूमि तथा उनको नेपाल एकिकरण गर्ने सपनालाई सार्थक बनाउन साथ दिने गोरखालीहरुको मातृभूमि गोरखा जिल्लामा विकासका न्यूनतम गतिविधिहरुले समेत उपयुक्त स्थान पाउन सकेको छैन । नेपाल जन्माउने जिल्ला ‘गोरखा’ जसले विश्वका कुना काप्चामा नेपाललाई वीर र स्वाभिमानीहरुको राज्यको रुपमा परिचित गराएर आफ्नो छुट्टै अस्तित्व र पहिचान कायम गर्न सफलता प्राप्त ग¥यो । तर आज त्यही भूमि एवं स्थल विकास र न्यूनतम राज्यको सेवा एवं सुविधाबाट उपेक्षित छ ।
यदि आधुनिक नेपाल राज्यको नाम गोरखा र राजधानी पनि गोरखा दरवारमा नै रहेको भए वा गण्डकी प्रदेश/गोरखा प्रदेश नामाकरण गरिएको भए के अहिले गोरखा र आम गोरखालीहरुले आफ्नो विकास र उन्नतिकोे लागि सिंहदरवार र वालुवाटार वा गण्डकी प्रदेश पोखरा तथा विगतमा नारायणहिटीको अनुग्रहको अपेक्षा गर्नु पथ्र्यो र ? त्यो त पृथ्वीको उदारता र दुरदरर्शिता तथा तत्कालिन र वर्तमान आम गोरखालीहरुको सद्भाव र सहानुभूतिको परिणाम नै हो, राष्ट्रको नाम नेपाल र राजधानी काठमाण्डौं वा गण्डकी प्रदेश पोखरा राजधानी रहन गएको ।
फलस्वरुप, आम नेपालीको सामु मात्र नभएर आम विश्व जनमानसको सामु गोरखा नेपाल नाम भन्दा धेरै परिचित बन्न पुगेको छ, एकातर्फ । भने अर्कोतर्फ, पृथ्वीनारायण शाह एक उदार तथा जनभावनाको कदर गर्न सक्ने एक असल जननेता, एक अमर र युगपुरुष मात्र नभई नेपाल द्रष्टा बन्न सफल भए यसमा कुनै नेपाली बीच फरक मत नहोला ! आफ्नो वीरत्वको मायाँँलाई विश्वको सामू नमूनाको रुपमा सदियौं युगदेखि आजको वैज्ञानिक युगसम्म चमत्कारको रुपमा प्रस्तुत गर्न सफल भएको ‘गोरखा जिल्ला’ काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला बाहेक नेपालको राजधानीबाट सुगम एकातिर छ, ‘गोरखा सदरमुकाम’ भने अर्कोतिर अति दुर्गम पनि छ, हिमालपारीको गाउँ ‘ल्हो, प्रोक र विही’ ।
राष्ट्रिय एकीकरणको द्रष्टा (स्थल) भूमि गोरखाको मुटुमा उनै ऐतिहासिक युगपुरुष पृथ्वीनारायण शाहको नामबाट निर्माण सम्पन्न पार्क तथा संग्राहलय र ऐतिहासिक नगरपालिकाको नाम समेत परिवर्तन गरेर वर्तमान राजनीतिक परिवेशले नेपाल द्रष्टा पृथ्वीको अनादार गरेको कुरा हामि माझ छिपेको छैन । गोरखा जिल्लाको मुटुमा १० बर्ष सम्म अनावरणको प्रतिक्षामा रहेको पृथ्वीको शालिकले खुल्ला आकाश देख्न नपाई टुट्नु र फुट्नु प¥यो । राष्ट्रिय एकताको प्रतिकलाई अनादार र उपेक्षा गरेको परिणाम आज राष्ट्रिय एकता र राष्ट्रिय भावना ओझेलमा परेको छ । त्यति मात्र नभई राष्ट्रिय एकता र राष्ट्रिय भावना नै तहस नहस बन्न पुगेको छ ।
ऐतिहासिक तथा पर्यटकीय हिसावले विश्व मानचित्रमा सुपरिचित नेपालको अत्यन्त महत्वपूर्ण एवं संवेदनशिल स्थान गोरखा जिल्लाको विकास, हित र उन्नतिको मुख्य पाटो गोरखाको गौरवमयी इतिहास नै हो । गोरखाको इतिहासलाई ज्वलन्त नगरेसम्म गोरखाको विकासको पाटो अन्धकारमय हुने कुरामा कुनै नेपालीको दुईमत नरहला ! ऐतिहासिक युगपुरुष पृथ्वीनारयण शाहको जन्मभूमि गोरखाको प्रत्यक्ष अबलोकन गर्ने उद्येश्य र लक्ष्य लिएर जिल्ला प्रवेश गरे जो सुकै स्वदेशी वा विदेशीले सर्वप्रथम अवलोकन गर्ने स्थान हालको गोरखा पार्क तथा गोरखा संग्राहलय हो । उक्त स्थानको अवलोकन गर्न जाने जो सुकै स्वदेशी एवं विदेशी पाहुनाहरुको पहिलो दृष्टि नै तत्कालिन पृथ्वीस्मारक स्थल हालको गोरखा पार्कको मुटुमा रहेको पृथ्वीको प्रतिमा (शालिक) परिसरमा पर्छ !
के के न होला नेपालको इतिहास बोकेको गोरखामा भन्नेहरुको प्रारम्भिक आगमनमा नेपाल द्रष्टाको अधुरो पहिचान एवं अपुरो परिचयप्रति खल्लोपन तथा उदेक पैदा हुन समय नै लाग्दैन र सो हुनु स्वभाविक पनि हो । त्यसैले प्रारम्भमा जुन नाम दिइएर पार्क र संग्राहलय निर्माण आरम्भ भएको थियो सोहि नाम (पृथ्वी पार्क र पृथ्वी संग्राहलय) नामाकरण स्थापित हुनु तथा गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका हुन र गरिन नितान्त आबश्यक छ ।
गौरवमयी इतिहास र प्राकृतिक सौन्दर्यताको अनुपम नमूना गोरखा जिल्ला, नेपाली भाषाले चल्न, खेल्न र हुर्कन पाएको ठाउँ राजा द्रव्य शाहको पौरखी भूमि, ‘न्याय नपाए गोर्खा जानू, शिक्षा नपाए कासी जानू’ भन्ने लोकउक्ति चलाउने श्रेय प्राप्त गर्ने न्यायिक एवं प्रतापी राजा रामशाहको जन्मभूमि नेपालको वीर सपूत भीमसेन थापा, कालु पाण्डे नेपालका प्रथम शहिद लखन थापा, वीर गजे घले जस्ता महान् व्यक्तित्वको जन्मभूमि एवं कर्मभूमि साँच्चै नेपाल र नेपालीका लागि गोरखा एउटा प्रेरणादायी स्थान हो । ऐतिहासिक तीर्थस्थल देवी मनकामना, शक्तिकी देवी गोरखाकालीका र बाबा गुरु गोरखनाथको तपोभूमिको रुपमा सुपरिचित गोरखाको भ्रमण गरी वस्तुगत स्थितिको अध्ययन अवलोकन गर्नु आजका पुस्ताको लागि आवश्यक र प्रेरणादायी पनि छ ।
अन्तमा, मानवमा हुने यावत् गुणहरु मध्ये निर्दिष्ट लक्ष्यको पहिचान गरी समय एवं देश, काल र परिस्थिति अनुकुल गाउँ, समाज र राष्ट्र तथा अन्तराष्ट्रिय परिवेश अनुसार उचित विचार सहित उचित मार्ग निर्देश गर्न सक्ने एवं आफैमा सहभागिता, लगनशिलता, सरलता, सहनशिलता, सबलता, सक्षमता, समझदारिता, महान्ता, सहिष्णुता, कर्तव्यनिष्ठता, कर्तव्यपरायणता, समानता, क्रुरता, राष्ट्रियता, मानवता जस्ता आदि गुणहरुले भरिपूर्ण व्यक्ति नै एक सफल, सक्षम र सबल एवं सम्मानित शासक मात्र नभई गाउँ, समाज र मुलुकलाई नै नयाँ परिवर्तन दिलाउन सक्ने महान् नेता जसले जनभावनाको कदर तथा जनताको भविष्य निर्माणको लागि प्रेरणादायी स्रोत बन्न सक्छ, ऊ नै एक युगको युगपुरुष तथा गाउँ, समाज र मुलुककै एक मात्र उच्च सम्मानित धरोहर बन्न सक्ने कुरा यथार्थ इतिहासले बोलिरहेछ । २५ दशकपछि पूनः नेपालमा एक बिशाल राजनीतिक परिवर्तन हुन पुगेको छ, नेपालमा गणतन्त्र स्थापना भएको छ । जुन यो परिवर्तनले नब युगपुरुषको जन्म गराउन सकेन, युगपुरुष बिनाको परिवर्तन सायद दिगो पनि रहन नसक्ला कि ? यो त नेपालको परिवर्तनहरुले पुष्टि गरेको कुरा न हो । राणा शासन १० दशक, पञ्चायत ३ दशक, प्रजातन्त्र मुश्किलले २ दशक, गणतन्त्र ….. ? दशक ! गणतन्त्र त आयो, शासन सत्ता त परिवर्तन भए तर इतिहास कोर्नेएवं रच्ने कार्य हुन सकेन । यस्तो परिबेशमा गणतन्त्रले नेपाल र नेपालीलाई के नै दिन सक्ला र नेपाल र नेपालीको आमुल परिवर्तन गर्न के गणतन्त्रबादीहरु सक्षम र सबल बन्न सक्लान् ? नसकिरहेको यो गणतान्त्रिक नेपालको विषम राजनीतिक परिवेशमा गणतन्त्रलाई नै छिया छिया पार्ने दाउ र होड बढेको छ जसको कारण बिशाल राजनीतिक परिवर्तनले प्राप्त गरेको उपलब्धीमा नै खिया लाग्न शुरु भएको छ, अर्थात् तन्त्रमा खिया लाग्न सक्छ तर इतिहासमा खिया लाग्दैन र एक युगले कमाएको इतिहासलाई अर्को युगले नामेट गर्न पनि सक्दैन । वर्तमान नेपालको राजनीतिक परिवेशमा त विगत युगले कमाएको इतिहास तथा स्वदेशी धरोहरलाई नै नामेट गराएर नयाँ युगको परिकल्पना स्वरुप आधुनिक नेपालको स्थानमा नयाँ नेपाल निर्माणको नाम दिएर आधुनिक नेपाल निर्माणको क्रममा स्वदेशमै उत्पादित ऐतिहासिक धरोहरलाई विस्थापन गरेर विदेशी धरोहरहरुलाई स्थापित गर्न खोजेर नेपालको गौरवमयी इतिहासलाई नै ध्वस्त एवं विध्वंस गर्न खोजिंदैछ छ । यहाँ स्मरणिय यो छ की, वर्तमान राजनीतिक हावाहुरीले ऐतिहासिक युगपुरुष र धरोहरहरुलाई नस्वीकार्न सक्छ तर इतिहास मेटिदैन । चेतना भया !
email : [email protected]/[email protected]
सम्पर्क नंं.: ९८५६०–३९३८५ तथा ०६४–४२०२०९



