अरूको मात्र होइन आफ्नै बिरादरीबाट हुने नचाहिँदो काम देखेर बेला–बेला कन्टिर–बाबूलाई के बोलुँ–के बोलुँ हुन्छ । उनी यस्तो कनफिउजाउने परिस्थितिप्रति एकछिन गम्भीर हुन्छन् र भन्छन्– मिडिया हातमा छ भन्दैमा कसैले पनि नचाहिँदो कुरा गर्नुहुँदैन ।
त्यसो त विचार तथा अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षपाती कन्टिर–बाबू कुनै पनि घटनालाई नजिकबाट हेर्दैगर्दा व्यक्तिको आफ्नो–आफ्नो दृष्टिकोण हुनसक्छ भन्ने मान्यता राख्छन् । तर आफूलाई लागेको कुरा सार्वजनिक रूपमा अभिव्यक्त गर्दा भने खास गरेर कसैलाई आरोप लगाइने कुरा तथ्यमा आधारित हुनैपर्छ । यो कुरा कन्टिर–बाबूको मान्यतामात्र होइन पत्रकार आचारसंहितामै प्रष्ट लेखिएको छ ।
तर जब मिडियाकर्मीले आचारसंहिता खोकिलामा राखेर आफ्ना विचारनिकटका राजनीतिकर्मीको ताबेदारीमा मिडियाको प्रयोग गर्छन्, कन्टिर–बाबू आश्चर्यचकितमात्र होइन, क्षुब्ध पनि हुन्छन् ।
सन्दर्भमा असार ३० गते यातायात विभागले जारी गरेको अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारीसाधनको भाडादर समायोजनसम्बन्धी सूचनासँग सम्बन्धित छ ।
अघिल्लो दिन जारी भएको उल्लिखित सूचनाको आधारमा बनाइएका फरक–फरक समाचार–शीर्षक देखेर साउन १ गते अर्थात् लुतो फाल्ने पर्वका दिन बिहान–बिहानै कन्टिर–बाबूको दिमाग झन्डै खराब भयो ।
दोधार अवस्थामा पाठकहरू अलमलिनु र मिडियाको कामको विश्वसनीयता घट्नु अस्वाभाविक होइन । विज्ञप्तिमा आधारित समाचार लेख्दा कम से कम विज्ञप्ति पनि एट्याच गरेको भए कसको के जान्थ्यो ?
आफूलाई तथ्य र जनताको पक्षपाती भनी दाबी गर्ने एक मिडियाल ‘देउवा सरकारले पहिलो दिनमै गर्यो जनतामारा काम, २८ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा’ शीर्षकमा समाचार सम्प्रेषित गर्यो ।
ले घाँस ! मान्छेलाई यस्तै नचाहिने शीर्षकको खुब मन पर्छ । कन्टिर–बाबूले हेर्दा–हेर्दै समाचार त भकाभक सेयर हुनथाल्यो । सेयर गर्नेमा उपमहानगरका उपमेयरदेखि त्रिविका रजिस्टर्ड प्राध्यापक डाक्टर उपाधिधारीसम्म छन् ।
कन्टिर–बाबूका अनुसार नचाहिँदो कुरा केही घण्टामै सामाजिक सन्जालमा नौ सय ६० सेयर हुनु भनेको जोक होइन । त्यसैले त कन्टिर–बाबू चिन्तित हुन्छन्, नेपाली समाज किन यसरी नचाहिने कुरामा बढी रमाइरहेको छ ?
त्यही समाचार तल एक पाठकको प्रतिक्रिया छ– खानेतेल, पेट्रोल खाद्यसामग्रीमा भाउ बढ्दाचाहिँ केही नहुने, गाडीको भाडा बढ्दाचाहिँ ज्यानमारा सरकार रे !
प्रतिक्रिया पढेर कन्टिर–बाबू मुसुमुसु हाँसे । उनी यो बेलामा गाडी भाडा बढाउनु हुन्थ्यो भन्ने पक्षपाती होइनन् । बरू सरकारले मँहगीको मारमा परेका यातायात व्यवसायीलाई राहत दिएर भए पनि केही समय भाडा–वृद्धि नियन्त्रणमा राख्नुपर्थ्यो भन्ने विचार राख्छन् ।
यता, एक राष्ट्रिय दैनिकले सोही विज्ञप्तिमा आधारित समाचारको शीर्षक राख्यो– जाँदाजाँदै ओली सरकारको उपहार : यातायातमा २८ प्रतिशत भाडा वृद्धि । यो समाचारलाई केही अनलाइनले पनि उही शीर्षकमा सेयर गरे ।
यस्तो दोधार अवस्थामा पाठकहरू अलमलिनु र मिडियाको कामको विश्वसनीयता घट्नु अस्वाभाविक होइन भन्ने मान्छन् कन्टिर–बाबू । र जनताका नाममा मिडिया चलाउने साथीहरूलाई सुझाव दिन्छन्– विज्ञप्तिमा आधारित समाचार लेख्दा कम से कम विज्ञप्ति पनि एट्याच गरेको भए कसको के जान्थ्यो ?




