नेपालमा सबैभन्दा बढी कुनै खेलका पङ्खा (फ्यान)हरू छन् भने त्यो हो फुटबल । कन्टिर–बाबू भन्छन्– प्रायः सबै उमेर समूहका नेपाली फुटबलप्रेमीमात्र होइनन्, सानोतिनो फुटबल विज्ञ नै हुन् । यसमा युवाहरू स्वभावैले अग्र मोर्चामा रहने भइहाले ।
बरू कम्प्युटर साक्षर नहोलान् नेपाली तर फुटबलमा सब एक से एक जान्ने–बुझ्ने छन् । सत्ते, मरी जाउँ तिनलाई बरू आफ्नो किताबमा कुन–कुन शीर्षकका पाठ छन्, त्यो हेक्का नहोला तर फुटबलका बारेमा सब थाहा छ ।
खयर, यसमा कन्टिर–बाबूलाई कुनै आपत्ति छैन । यो उनको प्राथमिकता र टाउको दुुखाइको विषय पनि होइन ।
त्यसो त कन्टिर–बाबूले देखेका छन्, नेपाली युवाको फुटबलप्रतिको त्याग र समर्पण । नपत्याए युरो कप र कोपा अमेरिकी फुटबलका सन्दर्भमा तपाई पनि नेपाली युवाको परीक्षण गर्न सक्नुहुन्छ ।
बाप रे बाप ! कस्तो उत्साह, कति उमङ्ग ! रातभरि जाग्राम बस्यो अनि दिउँसोभरि कुम्भकर्णलाई माथ गर्ने गरी घुरेर सुत्यो । काम न काज का दुस्मन अनाज का भनेको यही हो सायद ।
कन्टिर–बाबूले यी जबरजस्त फुटबल फ्यानमध्ये धेरैलाई एक महिनायता निगरानीमा राखेर अनुगमन गरिरहेका छन् । दुवै प्रतियोगिताका फाइनल खेलमात्र बाँकी रहेको वर्तमान अवस्थासम्म आइपुग्दा थुप्रै नेपाली रातभरी नसुती लाटोकोसेरो बने ।
कन्टिर–बाबु भन्छन्– युरो कप र कोपा अमेरिकी फुटबलका नाममा लकडाउनका अतिरिक्त दारू पसलले टन्न व्यापार गरे । हेर बिजोग, निन्द्राको नाश, पैसाको सत्यानास । बिजुलीको खर्च अलग । घरका अनेक व्यक्तिबाट खानुपर्ने गालीको अर्को पिरलो !
यतिबेला युरो कप भन्दा पनि सात समुद्रपारिको कोपा अमेरिकी कपको चर्चा र खिसिटिउरी उत्कर्षमा छ । भारत–पाकिस्तानजस्तो सनातन प्रतिद्वन्द्वी मानिने अर्जेन्टिना र ब्राजिलका पङ्खाहरूका कारण यतिबेला सामाजिक सञ्जाल हल्लिएको छ ।
नेपाली युवालाई आफ्नो देशको फुटबलको वर्तमान अवस्था र त्यसो हुनुको कारकबारे जान्न–बुझ्न यस्तै लगाव, समय भइदिएको भए कस्तो हुन्थ्यो ?
कोही भन्छन् अर्जेन्टिनालाई धुलो चटाउने हो । केही भन्छन् ब्राजिललाई डाँडो कटाउने हो । यसरी पङ्खाहरूले एक–अर्काविरुद्ध ल्याएको घोचपेचको आँधी–बेहरी र प्रदर्शन हेर्नलायक तमासा बनेको छ । त्यैट् तोरीहरू, पानी पर्छ कहाँ, छाता ओड्छन् यहाँ !
यसबाहेक कन्टिर–बाबू बढी टिप्पणी गर्न चाहँदैनन्, बेकारमा कुनै सुपर पङ्खाको चित्त दुख्नसक्छ । तथापि कन्टिर–बाबू प्रश्न सोध्छन्– आखिर यो जाग्राम र समर्पणको उपलब्धि के छ ? नेपाली युवालाई आफ्नो देशको फुटबलको वर्तमान अवस्था र त्यसो हुनुको कारकबारे जान्न–बुझ्न यस्तै लगाव, समय भइदिएको भए कस्तो हुन्थ्यो ?




















