अरे यार कति हाँस्नु के ! कन्टिर–बाबू हिजोदेखि एकतमासले हाँसेको हाँस्यै छन् । खासमा कन्टिर–बाबूको हाँसोको कारण ओल्बाले व्यक्त गरेको अदालतसम्बन्धी पछिल्लो धारणा हो ।
मैथिलीमा एक भनाइ छ– चालैन दुसलैन सुप के, जिनका देह सहस्रो भुर । नेपालीमा भन्दा– चाल्नोले नाङलोलाई जिस्क्याउँछ, जसको शरीरभरि प्वालैप्वाल छ । अर्थात्, जसमा आफैँमा खोट छ र जो स्वयम् दोषी छ उसले अरुलाई कसरी पाठ पढाउन सक्छ ? उसले अर्काको दोष कसरी देखाउन सक्छ ? यो सोझै उही जो चोर उसकै ठुलो स्वर भने जस्तो भएन र !
कन्टिर–बाबू भन्छन्– नियम–कानुन, संविधानमा छारो हाल्न खोजेर हाम्रा ओल्बाले यही काम गरे । तर जसलाई आफ्नो गल्तीको हेक्का छैन, उही अदालतलाई कानुन पढाउन खोज्छन् । हो, कन्टिर–बाबूको हाँसोको कारण यही हो ।
एक ठाउँ बोल्दाबोल्दै ओल्बाले अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्त पो पढाउन भ्याइहाले । ओल्बाका अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अदालतलाई छैन । यो अधिकार संसद् र राष्ट्रपतिलाई छ । हो त, अदालतले पनि यो आफ्नो अधिकार हो भन्ने कहीँ कतै दाबी गरेको छैन ।
कन्टिर–बाबू भन्छन्– तर संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार त अदालतको हो नि । अनि ओल्बा आफूले संसद् र अदालत दुवैको अधिकार एक्लै प्रयोग गरि दिने ! अरे वाह … यस्तो पनि हुन्छ ?
एकातिर ओल्बा विश्वासको मत लिन असफल हुने, त्यसपछि संसद् ‘फेस’ नगर्ने, अरूलाई प्रधानमन्त्री बन्न पनि नदिने, संसदै विघटन गरिदिने । अर्कोतिर संविधानका धाराहरूको आफूखुसी मनोगत व्याख्या गर्ने, अदालतलाई प्रभावित गर्ने उद्देश्यले मनोगत धारणाहरू सार्वजनिक गरिरहने, शक्ति पृथकीकरणको पाठ पढाइरहने ।
कन्टिर–बाबूको प्रश्न छ– आफूले गर्दा जे पनि ठीक देख्ने, अर्काको काममा भने सेटिङ देख्ने ? वाह ओल्बा वाह !
कन्टिर–बाबूले हिजो प्रतिपक्षी दल र नागरिक समाजका कतिपय अगुवाले अदालत सत्तापक्षको सेटिङमा चलिरहेको छ भनेको सुनेका थिए । आज प्रधानमन्त्री भन्दै छन्, अदालत प्रतिपक्षको सेटिङअनुसार अघि बढिरहेको छ । हाहाहा … कति हाँस्नु ?


