कन्टिर–बाबू कहिलेकाहीँ बडो असमञ्जसमा पर्छन्, जब उनलाई कुनै यकिन कुरो फुर्दैन । अनि नाकमा चस्माको डाँडी मिलाउँदै निकैबेर एकाग्र भएर सोच्छन्– जब दुनियाँमा समाधान नहुने कुनै समस्या नै हुँदैन भने यसको पनि समाधान कहीँ न कहीँ अवश्य होला !
तर कन्टिर–बाबूलाई आफ्नो एक बानी बडा मन पर्छ । जुन कुरामा अलि बढी कनफुजियाउँछन्, उनी चट्टसँग तपाईलाई सोधिहाल्छन् । यत्रो भूमिका बाँध्नुको अर्थ के हो भने अहिले एउटा विशेष विषय कन्टिर–बाबूसमक्ष सोझिएको छ ।
त्यसो त कन्टिर–बाबू समाजसेवा तथा सामाजिक चेतना जागरणका क्षेत्रमा काम गर्ने व्यक्तिलाई अभियन्ता भन्दैनन् । अभियन्ता भनेको इन्जिनियर हो भन्ने कन्टिर–बाबूलाई राम्रोसँग थाहा छ । दुनियाँले जे भने पनि चेतना जागरणका क्षेत्रमा काम गर्ने व्यक्तिलाई अभियानकर्मी भन्न रुचाउँछन् । र, सच्चा उद्देश्य र व्यवहारले अभियानमा जुटेका हरेक अभियानकर्मीप्रति कन्टिर–बाबूको सदैव सम्मान छ ।
तर यतिबेला देशमा अचानक समाजसेवाको हौवा व्याप्त छ । सबले सेवा गर्ने रे ! यसका साथै समाजसेवीहरू विवादमा पनि तानिएका छन् । यसैबीच, आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने त्यस्ता अभियानकर्मीमध्ये कोही गाउँमा मद्यपानका आरोपमा कुटिए त कोहीले प्रहरीलाई थर्काउने नाममा आफ्नो परिचय बनाए ।
आफूलाई अभियन्ता र समाजसेवी बताउने कोही आर्थिक रूपमा विवादित पनि बनेका छन् । कन्टिर–बाबू भन्छन्– आखिर आम्दानीको कुनै निश्चित माध्यम नभएका त्यस्ता अभियानकर्मीहरूको आम्दानीको स्रोत के हो ?
कन्टिर–बाबूको आग्रह छ– यस्ता अभियानकर्मी, समाजसेवी भनाउँदाहरूको सम्पत्ति छानबिन हुनु जरूरी छ । हुनसक्छ यस्ता समाजसेवीले गर्ने सेवाका पछाडि अलिक फरकखाले मेवा प्राप्त गर्ने चाहना लुकेको होस् । कन्टिर–बाबूको अर्को प्रश्न पनि छ– समाजसेवाका नाममा वितरण गरिने कतिपय ‘राहत’मा कुनै ‘आहत’ लुकेको त छैन ?
कन्टिर–बाबूको निवेदन छ– समाजसेवा र सामाजिक जागरण अभियान कसैका लागि कमाऊ–धन्दा नबनोस् ।
जारी समाजसेवा र जागरण अभियानको लहरमा कोरोनादेखि मनाङ–मेलम्चीका बाढीपीडितसम्म समाजसेवीहरूको उपस्थिति असरल्ल देखापरेको छ । कन्टिर–बाबूको चासो छ– यस्ता समाजसेवा कसैका लागि धन्दाको स्रोत त बनेका छैनन् ? अनुगमन तथा मूल्याङ्कन समितिको ध्यान कहाँ छ ?
कन्टिर–बाबूको सरोकार यतिमात्र हो कि समाजसेवा गर्न चाहनेले निश्चित पनि गरून्, जागरण अभियान चलाउनेले निर्विघ्न चलाउन् । यो अत्यन्त महान् कार्य हो, कन्टिर–बाबूको बडो आदर छ यिनलाई ।
कन्टिर–बाबूको आग्रह यतिमात्र हो– समाजसेवाका नाममा हुने राहत सङ्कलन र वितरण पारदर्शी बनोस्, लक्षित ठाउँमा पुगोस् । सामाजिक जागरण अभियानका नाममा बिर्सनलायक व्यवहार प्रदर्शन नहोस् ।
यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू तपाईसँग सोध्छन्– राहत वितरणमा अनियमितता नहोस् र जागरण अभियानका नाममा सामाजिक सद्भावना बिथोल्ने काम नहोस् भन्ने हाम्रो चाहना हो भने त्यसका लागि हाम्रो भूमिका के हुनुपर्छ ?




















